सिंगो गाउँमा नै क्यान्सरको प्रकोपः ३० महिनामा २६ जनाको मृत्यु

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १ : २३


सर्लाही । हरिवन नगरपालिका–५ मा अढाई वर्षमा क्यान्सरका कारण २६ जनाले ज्यान गुमाएका छन् । हरिवन–५ (साविकको घुर्कौली गाविस) को सिद्धार्थ टोल, धनपति टोल, गोेले टोललगायत गाउँमा क्यान्सर प्रकोपका रूपमा फैलिएको हो ।

अहिले पनि गाउँमा क्यान्सरका आठजना बिरामी उपचारका क्रममा छन् । ‘आठ जना क्यान्सरपीडित अहिले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्,’ वडाध्यक्ष नागेन्द्र साहले भने, ‘सिंगो वडामै क्यान्सर प्रकोपको रूपमा फैलिएको छ । अन्यलाई पनि क्यान्सर भएको हुन सक्छ । यसबाट पूरै गाउँले आतंकित छन् ।’

दूषित पानीका कारण गाउँमा क्यान्सर प्रकोपका रूपमा फैलिएको स्थानीय बुद्धिमान गोलेले बताए । ‘ज्यान गुमाउने र उपचार गराइरहेका अधिकांशलाई घाँटी र फोक्सोको क्यान्सर भएको छ,’ गोलेले भने, ‘डाक्टरले दूषित पानीका कारण यस्तो क्यान्सर लाग्ने गरेको बताएका छन् ।

सिद्धार्थ टोलका सिंहबहादुर मोक्तानलाई फोक्सोमा दोस्रो स्टेजको क्यान्सर रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका डा. सविन अधिकारीले पुष्टि गरे । ‘उहाँसहित सोही टोलका २–३ जनाको केस मैले हेरें,’ उनले भने, ‘त्यो ठाउँमा पिउनेपानीमा समस्या रहेको विषय थाहा भयो । बिरामीको भनाइ र उहाँहरूको अवस्था हेर्दा पानीकै कारण यो संक्रमण भएको अनुमान हामीले गरेका छौं ।’

१६ जनालाई वडाको सिफारिस
वडा कार्यालयले १६ जना क्यान्सरपीडितलाई उपचारका लागि सिफारिस गरिदिएको छ । त्यसमध्ये केही उपचारका क्रममा रहेका र केहीको मृत्यु भइसकेको वडाध्यक्ष साहले बताए । ‘मेरी बहिनीलाई पनि घाँटीको क्यान्सर छ,’ उनले भने, ‘प्रत्येक पाँचमध्ये एक घरमा क्यान्सरपीडित छन् । मेरै छिमेकी दुई जना पनि क्यान्सरको उपचार गराइरहेका छन् ।’

चापाकलको पानी खान बन्द
क्यान्सरले गाउँमा विकराल रूप लिए पनि यसको यकिन कारण भने खुलेको छैन । गाउँका झन्डै चार सय परिवारमा क्यान्सरको त्रास छ । बिरामीका आफन्तलाई डाक्टरले पानीका कारण यस्तो रोग लाग्न सक्ने बताएको स्थानीय मोती योञ्जनले बताइन् ।

‘मेरै ससुरा बाको पनि डेढ महिनाअघि क्यान्सरकै कारण मृत्यु भयो,’ उनले भनिन्, ‘६ महिनाअघि सामान्य बिमारी भएपछि अस्पताल पुर्‍याएका थियौँ । डाक्टरले फोक्सोमा क्यान्सर भएको बताए । डाक्टरले पिउनेपानीका कारण क्यान्सर भएको भनेपछि हामीले चापाकलको पानी खान बन्द गरेका छौं ।’

सात वर्षअघिदेखि गाउँका केही चापाकलमा पहेँलो पानी आउन थालेको स्थानीय अमरलाल तामाङ बताउँछन् । ‘अहिले गाउँका कुनै पनि चापाकलको पानी पिउन योग्य छैन,’ तामाङले भने, ‘सबैजसो कलबाट गह्नाउने पहेँलो रंगको धमिलो पानी आउँछ । नुहाउँदा जिउमा डाबर आउने र एलर्जी हुने गर्छ । लुगा धुँदा पनि सफा हुँदैन ।’ क्यान्सरको त्रासका कारण केही समययता अधिकांश स्थानीयले चापाकलको पानी पिउनै छाडेका छन् । भाँडामा थापेर राख्दा पानीमा पहेँलो तर लाग्ने गरेको छ ।

प्राविधिकले भनेका थिए, ‘पानी दूषित छ’
०७३ सालमा गाउँमा आर्सेनिक जाँच गर्न प्राविधिक टोली आएको थियो । त्यतिवेला केही चापाकलको पानी जाँचपछि प्राविधिकले पानी पिउनयोग्य नरहेको रिर्पोट दिएको वडाध्यक्ष साहले बताए ।

उनले भने, ‘प्राविधिकले नमुना परीक्षणपछि चापाकलको पानीमा आर्से्निक नरहे पनि अन्य विषाक्त तत्व रहेकाले नपिउन भनेका थिए । तर, अन्य विकल्प नहुँदा स्थानीयले चापाकलको पानी प्रयोग गर्न छाडेनन् । अहिले यो अवस्था आयो ।’

‘चिनी उद्योगका कारण पानी दूषित’
नजिकै रहेको इन्दुशंकर चिनी उद्योगका कारण जमिनमुनिको पानी दूषित बनेको स्थानीयकोे आशंका छ । उद्योगबाट निस्कने केमिकलयुक्त फोहोर पानी गाउँनजिकैको लखन्देही खोलामा त्यसै छाड्ने गरिएको छ । फोहोर पानीका कारण गाउँमा प्रदूषण बढेको भन्दै वर्षौंदेखि स्थानीयले विरोध गर्दै आएका छन् । 
-नयाँ पत्रिका दैनिक


प्रतिक्रिया दिनुहोस्