हापुरेको ‘शान्तिवार्ता घर’ पुगेर पूर्वसभामुख महरा एक्कासी बने भावुक

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ४ : २४


दाङ । सरकार र माओवादीबीच शान्तिवार्ता भएको पश्चिम दाङको ‘हापुरे’ एकताका निकै चर्चामा थियो । अघिल्लो दिन नेपालगञ्जमा भएको वार्ता अचानक दोस्रो दिन दाङको पश्चिमी क्षेत्र ‘हापुरे’मा वार्ता भएको थियो । 

त्यही समयमा हृदयविदारक दोरम्बा घटना भएपछि तत्कालीन माओवादी वार्ता टोलीले सरकारी वार्ता टोलीलाई दोरम्बा घटनाको विरोधमा ज्ञापनपत्र समेत वार्तास्थल हापुरेमै बुझाएको थियो । अन्तरिम सरकार, गोलमेच सम्मेलन र संविधानसभाको बटमलाइन बनाएको तत्कालीन माओवादीले आफ्ना माग पूरा नभएपछि सरकार–माओवादीबीचको वार्तामा विराम लागेपछि युद्धविराम भङ्ग भएको थियो । डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको तत्कालीन माओवादी वार्ता टोलीका एक सदस्य थिए, कृष्णबहादुर महरा ।

युद्धविराम भङ्ग भएपछि अनेकौं राजनीतिक परिघटना हुँदै मुलुक यतिबेला संघीय लोकतान्त्रिक गणतन्त्रमा छ । त्यसपछिका दिनहरुमा धेरै राजनीतिक उतारचढावहरु पार गर्दै वार्ता टोलीका सदस्य कृष्णबहादुर महरा धेरै मन्त्रालयहरु सम्हाल्दै पछिल्लोपटक सभामुखजस्तो गरिमामय पदमा पुग्नुभएको थियो । यहीबीचमा यौन दुव्र्यवहारको आरोपमा फसाइनुभएका पूर्वसभामुख कृणबहादुर महरा अदालतबाट पूर्णरुपमा सफाई पाएपछि आफ्नो निर्वाचन क्षेत्र दाङ पुग्नुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्र जानुभएका पूर्वसभामुख कृष्णबहादुर महरा आज पश्चिम दाङको सोही वार्ता घरमा पुग्नुभएको छ । वार्ता घरमा पुग्दा उहाँ जनयुद्धकालीन अवस्था सम्झेर भावुक समेत बन्नुभयो । वार्ताघरमा पुगेर सरकार र माओवादीबीच भएको वार्ता कोठामै पुगेर वार्ताको समयको तस्वीर हेर्दै उहाँ भावुक बन्नुभएको थियो । ‘मलाई २०६० सालको झझल्को आयो । हामीले यही घरको यही कोठामा बसेर तत्कालीन सरकारको वार्ता टोलीसँग गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको माग खरोरुपमा राखेका थियौं । तर सरकारी वार्ता टोलीले हाम्रा माग सुन्न सकेन र वार्ता भङ्ग भएको थियो’, उहाँले भन्नुभयो ।

मुद्दा जितेपछि पहिलोपटक दाङ पुग्नुभएका पूर्वसभामुख कृष्णबहादुर महरालाई पश्चिम दाङमा आज भव्य स्वागत गरिएको छ । बिजौरीबाट सुरु भएको स्वागत कार्यक्रम तुलसीपुर हुँदै पश्चिम हापुरेसम्मका जनताले ठाउँठाउँमा भव्य स्वागत तथा सम्मान गरेका थिए ।

आफ्नो स्वागतका लागि विभिन्न ठाउँमा आयोजना गरिएका कार्यक्रमहरुमा बोल्दै पूर्वसभामुख एवं दाङ २ का सांसद महराले दाङवासीले दिएको यो अपार माया, प्रेम र सद्भावले आफू भावविह्वल भएको बताउनु भयो । उहाँले दङाली जनताको अपार माया र सद्भावलाई शिरोधार्य गर्दै आजीवन दङाली जनताको सेवामा समर्पित हुने उद्घोषसमेत उहाँले गर्नुभयो ।

कार्यक्रममा बोल्दै महराले थप्नुभयो, ‘म तीन महिना भुमरीमा परें । अहिले छुट्कारा पाएको छु । कसैले षडयन्त्र गर्दैमा गलत कुरा सही हुन सक्दैन ।’ उहाँले भन्नुभयो, ‘अन्तमा मैले न्याय पाएको छु । यो मेरो मात्रै जीत होइन, तपाईं जनताको जीत हो ।’


 


प्रतिक्रिया दिनुहोस्