दुर्घटनामा घाइते मैनालीसहित सबैलाई हेलिकप्टरबाट ल्याइयो

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ९ : ५८


काठमाडौं । महोत्तरीको बर्दिबासमा सवारी दुर्घटनामा गम्भीर घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीसहित घाइते सबैलाई काठमाडौं ल्याइएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुलाई काठमाडौंको ल्याइएको छ। घाइतेहरुको ग्रान्डी अन्तराष्ट्रिय अस्पतालमा उपचार हुने छ।

मैनालीसहित घाइते उनका परिवारिक सदस्य र चालकलाई बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचारको लागिभर्ना गरिएको थियो। मैनालीको अवस्था गम्भीर रहेको कारण त्यहाँ उपचार सम्भव नभएपछि सेनाको हेलिकप्टरबाट सबैलाई काठमाडौँ ल्याइएको हो।

गृह जिल्ला झापाबाट काठमाडौँ आउँदै गर्दानेता मैनाली  बिपी राजमार्गमा पर्ने महोत्तरीको बर्दिवास नगरपालिका–३ कालापानीमा सडक दुर्घटनामा परी परिवारका अन्य सदस्यसहित घाइते हुनुभएको हो। 

नेता मैनाली चढ्नुभएको बा ७ च २१२० नम्बरको कार विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ८६६८ नम्बरको पिकअप भ्यानसँग ठोक्किँदा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ। 

दुर्घटनामा परी नेता मैनाली, उहाँका छोरा सरोज, बुहारी पूजा ढुङ्गाना, नाति एन र कारचालक रामप्रसाद पौडेल घाइते भएको इप्रका बर्दिवासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन चापागाइँले जानकारी दिनुभयो।घाइते पाँचै जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ, धापासीस्थित ग्राण्डी इण्टरनेशनल हस्पिटलमा पठाइएको छ।

दुर्घटनाको खबर पाएलगत्तै प्रहरी टोलीले घाइतेको उद्धार गरी बर्दिबास–१ स्थित जनसेवा अस्पताल पु¥याएको थियो। पाँचैजनामध्ये नेता मैनाली र उहाँकी बुहारी पूजालाई गम्भीर चोट लागेको चिकित्सकले बताएका छन्।

नेता मैनाली बिहान बिर्तामोड–४ स्थित आफ्नै घरबाट बिहान ५ः१५बजे काठमाडौँका लागि हिँड्नुभएको थियो । भाइ मीनप्रकाशकी छोरीको विवाहका लागि उहाँ केही दिनअघि झापा जानुभएको थियो।


प्रतिक्रिया दिनुहोस्