नेकपा बाग्मती प्रदेशको प्रशिक्षण शुरु, ओली प्रचण्ड एउटै मञ्चमा

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ८ : ३५


काठमाडौं । देशभर प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बिहीबार बाग्मती प्रदेशको प्रशिक्षण गर्दैछ। बिहीबार दिउँसो १ बजेदेखि बाग्मती प्रदेशको प्रशिक्षण कार्यक्रम सिंहदरबार बग्गीखाना नजिकैको यलम्बर पार्टी प्यालेसमा सुरु भएको हो।

कार्यक्रममा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल तथा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी हुनुहुन्छ।

बुधबार बसेको सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभा लैजान गरेको निर्णय र आफै सहभागी बैठकको निर्णय नमान्ने ओलीको भनाइले नेकपा विवादमा फसेको तरंग फैलिरहेका बेला शीर्ष नेताहरु एउटै मञ्चमा देखिएका छन्।

कार्यक्रमस्थलमा अरु नेताहरु पहिले नै आए पनि प्रधानमन्त्री ओली भने १ बज्ने बेला आइपुग्नुभएको थियो। 

प्रशिक्षणमा १३ जिल्लाका नेता, कार्यकर्ता, प्रदेश सांसद, मन्त्री गरी २ हजार बढी जिल्ला सदस्यसम्मका नेता कार्यकर्ताहरु सहभागी रहेका छन्।

बुधबारको सचिवालयको निर्णय र त्यसपछि प्रधानमन्त्री ओलीले सचिवालय निर्णय कार्यान्वयन गर्न सक्दिनँ भनी दिएको अभिव्यक्तिले नेकपा र सिंगो देश नै तरंगित भइरहेको छ। यस्तो बेला एउटै कार्यक्रममा उपस्थित शीर्ष नेताहरुले व्यक्त गर्ने विचारले महत्वपूर्ण अर्थ राख्ने भएकाले सबैले नेकपाको बाग्मती प्रदेशको प्रशिक्षणलाई चासोपूर्वक हेरिरहेका छन्।
 


प्रतिक्रिया दिनुहोस्