दाङमा के गर्दैछन् पूर्वसभामुख महरा ? जनयुद्धका घाइते योद्धादेखि जनताको घरदैलोसम्म

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ३ : ५४


दाङ । पूर्वसभामुख कृष्णबहादुर महरा यही फागुन १२ गते आफ्नो निर्वाचन क्षेत्र दाङ पुग्नुभएको छ । दाङ पुगेको तेस्रो दिन महराले जनयुद्धका घाइतेदेखि विकास निर्माणका आयोजनाहरुको अवलोकन, अनौपचारिक भेटघाट र स्थानीयले स्वतस्फूर्तरुपमा आयोजना गरेका स्वागत समारोहमा भाग लिनुभएको छ ।

पूर्वसभामुख महरा बिहान सबेरै विश्वको सबैभन्दा अग्लो त्रिशूल रहेको पवित्र धार्मिक तथा पर्यटकीयस्थल पाण्डवेश्वर मन्दिर धारापानीधाममा पुग्नुभएको थियो । उक्त धार्मिकस्थलको चौतर्फी विकासका लागि विगतदेखि नै योगदान र चासो दिँदै आउनुभएका पूर्वसभामुख महरा पर्यटकीयस्थलको पछिल्लो अवस्थाको अवलोकनका लागि पाण्डवेश्वर मन्दिर पुग्नुभएको थियो ।

पाण्डवेश्वर मन्दिरपछि फर्किनु भएका पूर्वसभामुख महरालाई उहाँकै निर्वाचन क्षेत्र रहेको नारायणपुर बजारमा स्थानीयहरुले भव्य स्वागत गरेका थिए । नारायणपुर बजारमा स्वस्फूर्तरुपमा जम्मा भएका सयौं स्थानीयवासीहरुले उहाँलाई फूल, माला र अविरले स्वागत गरेका थिए । त्यसक्रममा स्थानीय सीताराम चौधरी लगायतका मतदाताहरुले महरालाई न्यायालयले सफाई दिएकोमा खुशी व्यक्त गरेका थिए । उहाँहरुले आफूहरु सधै महरालाई साथ दिन तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

नारायणपुर बजारमा गरिएको स्वागत कार्यक्रमपछि महरा जनयुद्धका घाइते योद्धा सीपी शर्मालाई भेट्न शर्माकै घरमा पुग्नुभएको थियो । महरा घाइते शर्माको घर रहेको तुलसीपुर उपमहानगरपालिका १७ मा पुग्नुभएको थियो । २०६२ साल चैत २५ गते रुकुमको खारा भिडन्तमा घाइते हुनुभएका शर्माका दुईवटै खुट्टा छैनन् ।

भेटका क्रममा घाइते योद्धा सीपी शर्माले महरालाई दुश्मनहरुले षडयन्त्रपूर्वक फसाएको उल्लेख गर्दै अन्तिममा सत्यको जीत भएरै छाडेको बताउनुभयो । ‘हामी महरा सर पूर्णरुपमा निर्दोष हुनुहुन्छ भनेर पहिले नै विश्वस्त थियौं’, शर्माले भन्नुभयो, ‘अहिले न्यायालयले नै उहाँ निर्दोष भएको पुष्टि गरिसकेको छ । दुश्मनहरुको षडयन्त्रको पर्दाफास भएको छ ।’ लडाईको मोर्चामा हिजो आफूहरुले अङ्ग गुमाएको स्मरण गर्दै शर्माले महरा पनि देश र राष्ट्रको पक्षमा लड्दालड्दै षडयन्त्रको शिकार हुनुपरेको बताउनुभयो ।

भेटका क्रममा महराले आफू सधै राष्ट्रिय स्वाधीनताको रक्षामा लडिरहेको र अब पनि लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले दाङको समग्र विकासका लागि आफू निरन्तर लागिरहने बताउनुभयो ।

यसबाहेक महराले बुधवार जिल्लाका विभिन्न ठाउँमा गएर अनौपचारिक भेट गर्नुभएको थियो । विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु महरालाई भेट्न बिहानैदेखि महरा निवासमा पुग्नुभएको थियो । घरमा भेट्न र शुभेच्छा प्रकट गर्न आएका आफ्ना पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा अन्य पार्टीका नेताहरुसँग पनि आफ्नै निवासमा महराले भेटघाट गर्नुभएको थियो ।

काठमाडौं जिल्ला अदालतबाट आफूमाथि लागेको आरोपमा पूर्ण सफाई पाएर दाङ पुग्नुभएका महराले जिल्लामा भेटघाटलाई तीब्रता दिनुभएको हो । १२ गते दाङ आउने क्रममा पूर्वसभामुख महरालाई दाङको प्रवेश विन्दु धानखोलादेखि घोराहीसम्मका विभिन्न ठाउँमा स्वस्फूर्तरुपमा हजारौं जनताले भव्य स्वागत गरेका थिए ।
 


प्रतिक्रिया दिनुहोस्