किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा राज्यमन्त्रीका सल्लाहकार पक्राउ

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  २ : ३८


काठमाडौँ । किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घले पक्राउ परेका छन्।

घलेमाथि १७ वर्षीया किशोरीलाई लिफ्ट दिने नाममा ४ दिन बन्धक बनाएर बलात्कार गरेको आरोप लागेको छ। प्रहरीले उनलाई १४ दिन अघि पक्राउ गरेको हो। प्रहरीका अनुसार घलेले किशोरीलाई माघ २७ देखि फागुन १ गतेसम्म टोखास्थित एक घरको फ्ल्याटमा बन्धक बनाएर बलात्कार गरेको खुलासा भएको छ। 

उनलाई अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी अन्तर्गत जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको काठमाडौँ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले बताउनुभयो। 

सिन्धुलीकी ती किशोरी घरबाट काठमाडौँ आउने क्रममा काभ्रेको बनेपामा बस पर्खिरहेकी थिइन्। काठमाडौँबाट बनेपा पुगेका घलेले सडक किनारमा बस कुरिरहेकी किशोरीलाई मोटरसाइकलमा लिफ्ट दिए।

किशोरीलाई गन्तव्यमा पुग्न नदिई घलेले ४ दिनसम्म बन्धक बनाएको खुलेको छ। टोखास्थित एक घरमा फ्ल्याट भाडामा लिएर एक्लै बस्दै आएका घलेका परिवार अमेरिकामा रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्