बेथानचोक ढुङ्खर्कमा विद्युत महसुल काउन्टर सञ्चालन

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  २ : १०


काभ्रे । नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले बेथानचोक गाउँपालिका वडा नं. २ ढुङ्खर्कमा विद्युत महसुल काउन्टर सञ्चालन गरेको छ।

बुधबार ढुङ्खर्कमा एक कार्यक्रमको आयोजना गरी विद्युत महसुल काउन्टरको उद्घाटन गरिएको हो।

सो अवसरमा नेपाल विद्युत प्राधिकरण बाग्मती प्रदेशका प्रमुख अनिरुद्र प्रसाद यादवले काउन्टरको उद्घाटन गर्नुभएको थियो।

गाउँपालिका र वितरण केन्द्रबीच सम्झौता

साथै सोही कार्यक्रममा विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्र र बेथानचोक गाउँपालिकाबीच विद्युत सेवा विस्तार, चुहावट नियन्त्रण लगायतका विषयमा सहमति भएको छ।

बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना र नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रका प्रमुख इञ्जिनियर रञ्जनराज गुरुङद्वारा हस्ताक्षरित सम्झौता पत्रमा गाउँपालिकालाई पूर्ण विद्युतीकरण गर्ने, अति विपन्न परिवार तथा साँस्कृतिक सम्पदाहरुमा निःशुल्क मिटर जडानका लागि गाउँपालिकाले विवरण उपलब्ध गराउने सम्झौता गरिएको छ।

त्यस्तै, विद्युत चुहावट नियन्त्रणका लागि गाउँपालिकाले प्राधिकरणलाई सहयोग पु¥याउने, नियमित महसुल तिर्ने बानी बसाल्न उपभोक्ताहरुलाई सचेत गराउने, समयमा विद्युत शुल्क तथा जरिवानासमेत नतिर्ने उपभोक्ताहरुलाई गाउँपालिकाको सेवा सुविधा रोक्का गर्नेसम्मका सम्झौता गरिएको छ।

विद्युत कर्मचारीहरुलाई गाउँपालिकाको सम्मान

यसैबीच बेथानचोक गाउँपालिकाले विद्युतीकरणमा विशेष भूमिका निर्वाह गरेको भन्दै नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रका प्रमुख इञ्जिनियर रञ्जनराज गुरुङ, केन्द्रअन्तर्गतको ढुङ्खर्क नो लाइटका इन्चार्ज सुनिल चौधरी र कर्मचारीहरु बुद्ध तामाङ र दशरथ तिमिल्सिनालाई सम्मान गरेको छ।

गाउँपालिका अध्यक्ष प्रेमराज तिमिल्सिनाको अध्यक्षतामा तथा काभ्रे वितरण केन्द्रका कर्मचारी शिवराज बस्नेतको सञ्चालनमा शुरु भएको कार्यक्रममा विद्युत प्राधिकरण बाग्मती प्रदेशका प्रमुख अनिरुद्र प्रसाद यादव, काभ्रे वितरण केन्द्रका प्रमुख इञ्जिनियर रञ्जनराज गुरुङ, बेथानचोक वडा नं. ४ का अध्यक्ष लालबहादुर श्रेष्ठ लगायतले बोल्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस्