बलात्कार आरोपमा मन्त्रीका सल्लाहकार पक्राउ

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १२ : ५७


काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घले बलात्कार आरोपमा पक्राउ परेका छन् । 

सिन्धुली घर भई काठमाडौं बसेर कक्षा १२ मा पढ्दै गरेकी एक किशोरीलाई बलात्कार गरेको पाइएपछि प्रहरीले घलेलाई पक्राउ गरेको हो। 

काठमाडौं नयाँबजार जान बनेपामा बस पर्खेर बसेकी किशोरीलाई घलेले सम्बन्धित ठाउँ र्पुयाइदिन्छु भन्दै आफ्नो मोटरसाइकलमा हालेर ल्याएका थिए।

बनेपाबाट काठमाडौं आउने क्रममा उनले आफू राज्यमन्त्री मानन्धरको सल्लाहकार भएको, अमेरिकाको ग्रिन कार्ड भएको र पत्नीसँगै परिवारका अन्य सदस्यसमेत अमेरिकामै भएको बताएर आफूतर्फ आकर्षित गरेका थिए। ती किशोरीलाई समेत अमेरिका पठाइदिने आश्वासन दिएर गत माघ २७ गते आफ्नो फ्ल्याट टोखामा लगेर तीन दिनसम्म बन्धक बनाई बलात्कार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

किशोरीको उजुरीका आधारमा घलेलाई पक्राउ गर्दै प्रहरीले अनुसन्धान गरिरहेको छ।

दृष्टिबाट


प्रतिक्रिया दिनुहोस्