घुमन्ते व्यापारमै रमाएका जुम्लाका हरिबहादुर

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १२ : ४२


प्यूठान । जुम्लाका ५२ वर्षीय हरिबहादुर खत्री सिमी, कोदो र मार्सी धानको चामल बोकेर गाउँ–शहरतिर डुलिरहेको भेटिनुहुन्छ। 

जुम्लामा उत्पादन भएका ती अर्गानिक सिमी, कोदो, मार्सी धानको चामल बिक्री गरी जिविका चलाउन उहाँ यसरी गाउँ शहरतिर आउनुभएको हो। 

जुम्लाको तातोपानी गाउँपालिका ४ मा घर रहेका खत्री घुमन्ते व्यापारीको रुपमा जिविका चलाइरहनुभएको छ। उहाँ भन्नुहुन्छ, ‘म एक घुमन्ते व्यापारी हुँ। जुम्लामा उत्पादन भएको अर्गानिक अन्नबाली, सिमी प्यूठानलगायत अन्य जिल्लाबासीलाई खुवाउन पाउँदा खुशी लाग्छ।’ 

५ वर्ष अघिसम्म हरिबहादुर जुम्लाबाट महंगा जडिबुटी बिक्री गर्न जहाज चढेर अन्य जिल्लामा पुग्नुहुन्थ्यो । अहिले जुम्लामा सडक पुगेपछि उहाँ सिमी, कोदो, फापर बिक्री गर्न गाडीबाटै अरु जिल्लासम्म पुग्नुहुन्छ। जुम्लामा उत्पादित कृषि वस्तुहरु आफूले खरिद गरी बिक्री गर्न ल्याउने गरेको उहाँले बताउनुभयो।

यो सिजनमा उहाँले २१ क्विन्टल सिमी र एक क्विन्टल कोदोको पिठो प्यूठानमा मात्रै ल्याएको बताउनुभयो। आफूले ल्याएको कृषि वस्तु सकिन लागेको भन्दै उहाँले प्यूठानको बिजुवार बजारमा सिमी राखेर रोल्पा दाङसम्म मोटरसाइकलमा बोकेर बिक्री गर्न जाने गरेको बताउनुभयो। ‘बजार गाउँ सबैतिर घुम्छु, उहाँले भन्नुभयो, ‘थोरै व्यापार भएको दिनमा पनि २५÷३० किलोजति बिक्री हुन्छ।’

घुमन्ते व्यवसाय गरेरै छोराछोरीको पढाइ खर्च जुटाइरहेको उहाँको भनाई छ। ‘छोराले खरिदारमा नाम निकालेको छ, उहाँले भन्नुभयो, ‘छोरो जागिरे भएपछि भने जिविका चलाउन अलि सजिलो हुन्छ भन्ने आशा गरेको छु।’ उसो त एउटी छोरीको बिहे भए पनि दुई छोरीको पठनपाठन र परिवारको लालनपालनको जिम्मेवारी उहाँकै काँधमा छ।

कृषिजन्य वस्तुहरु बोकेर घर–घर पुग्दा विभिन्न समस्या झेल्नुपरेको उहाँको अनुभव छ। ‘जति नै सस्तोमा व्यापार गरे पनि ग्राहकले अझैं सस्तोमा दिनुस् भन्छन्, उहाँले दुखेसो गर्नुभयो, ‘कहिलेकाहीँ त बोहनी नभाको बेला अलिक घाटामा पनि बिक्री गर्छु।’ 

उसो त सबै मानिस एकैनासको भने नहुने गरेको उहाँको अनुभव छ। कतिपय ग्राहकहरु आफूलाई आवश्यक परेको कृषिजन्य वस्तु फोन गरेर मगाउने ग्राहक पनि रहेको भन्दै उहाँ भन्नुहुन्छ, ‘आज पनि मगाएको सिमी पुर्याउन सदरमुकाम खलंगा आएको हुँ।’

सिमी एक किलोको १५० देखि २०० रुपैयाँसम्ममा बिक्री गर्दै आएका उहाँले एक सिजनमा ४० देखि ५० हजारसम्म नाफा हुने गरेको बताउनुहुन्छ। सिमी बेचेरै नेपालगञ्जमा घर बनाएको बताउँदै उहाँले व्यवसायका लागि मोटरसाइकल समेत किनेको बताउनुभयो। 

मोटरसाइकलमै सामान राखेर विभिन्न जिल्लामा पुग्ने जुम्ली व्यवसायी उहाँमात्रै भने होइन। उहाँजस्तै अरु पनि विभिन्न सामान बेच्न शहर बजार र गाउँ गाउँसम्म पुग्ने गरेको हरिबहादुर बताउनुहुन्छ। आफूहरुले सानैदेखि यस्तै काममा लागेको बताउँदै हरिबहादुर भन्नुहुन्छ, ‘सक्दासम्म यसरी नै हिड्ने हो, बानी लाग्यो अब कहाँ छोड्न सकिन्छ र।’

जिल्ला–जिल्लामा पुग्दा कहिलेकाहीँ स्थानीय व्यापारीहरुको रुखो व्यवहार पनि भोग्नुपरेको उहाँको अनुभव छ। उहाँलाई साविक कृषि बिकास कार्यालय जुम्लाले सिमीलगायत अन्य कृषिजन्य वस्तुको व्यापार गर्न पाउने सिफारिस बनाइदिएकाले कानूनी झमेला भने बेहोर्नुपरेको छैन। सोही सिफारिसको आधारमा कृषिजन्य उत्पादन बिक्री गर्न सहजै विभिन्न जिल्ला घुम्न पाएको बताउनुहुन्छ। 
 


प्रतिक्रिया दिनुहोस्