जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेललाई यसरी सम्झिए विद्यार्थीहरुले

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १२ : १४


काठमाडौं । तत्कालीन नेकपा (माओवादी)ले शुरु गरेको १० वर्षे जनयुद्धका क्रममा पहिलो सहिद बनेका दिलबहादुर रम्तेलको २५ औं स्मृति तथा बलिदान दिवसको सन्दर्भमा बुधबार देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ।

आजभन्दा २५ वर्ष अगाडि गोरखाको पुन्द्रुङस्थित ब्रम्हाचारिणी निमाविको कक्षा चारमा पढ्ने ११ वर्षीय विद्यार्थी रम्तेललाई माओवादीलाई सघाएको आरोपमा विद्यालय हाताभित्रै सुरक्षाकर्मीले हत्या गरेका थिए। 

तत्कालीन माओवादीले उनै रम्तेललाई जनयुद्धको पहिलो सहिदको रुपमा सम्मान गर्दै आएको छ।

यसै सन्दर्भमा सत्तारुढ नेकपा निकट अनेरास्ववियूले २५ औं दिलबहादुर रम्तेल स्मृति तथा बलिदान दिवसको सन्दर्भमा माइतीघर मण्डलामा अहिले दीप प्रज्ज्वलनको तयारी गरिरहेको छ। 

रम्तेल जन्मिएको गोरखा जिल्लामा बुधबारै अनेरास्ववियू र राष्ट्रिय युवा संघले रक्तदान कार्यक्रम आयोजना गरेका छन्।

बुधबार बिहान स्वतन्त्र विद्यार्थी युनियन थापाथली क्याम्पसको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवम् अनेरास्ववियूका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने, अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङलगायतको उपस्थिति थियो। 

कार्यक्रममा सहिद रम्तेलको सम्झना गर्दै उनको सहादतले जनयुद्धमा परेको प्रभाव र त्यसले पारेको योगदानको चर्चा गरिएको थियो।

सोही कार्यक्रममा सहिद तथा वेपत्ता योद्धा परिवारका सदस्य सुरेन्द्र बस्नेत,  योगेन्द्र बुढा, श्याम रोका, जटिल कार्की, विवेक ढकाल, प्रतिक कार्की र कमल कुंवरलाई सम्मानसमेत गरिएको थापाथली क्याम्पसका स्ववियु सभापति प्रज्वल कार्कीले जानकारी दिनुभयो।

तत्कालीन राज्यद्वारा रम्तेल मारिएको फागुन १४ र झापा आन्दोलनमा लागेकाहरुलाई नियन्त्रणमा लिएर सुखानीको जंगलमा हत्या गरिएको दिन फागुन २१ गते एक सातासम्म तत्कालीन माओवादीहरुले ‘बलिदान दिवस’को रुपमा मनाउने गर्दछन्।


प्रतिक्रिया दिनुहोस्