रोल्पामा सुन भएको पुष्टि, उत्खनन गर्ने मन्त्री पुनको घोषणा

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १० : ३१


रोल्पा । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान ‘अनन्त’ले विगतमा जनयुद्धको केन्द्रका रुपमा रहेको रोल्पालाई अब विकासको केन्द्र बनाउने कामको थालनी भएको बताउनुभएको छ। 

रोल्पा सदरमुकाम लिबाङमा बुधबार लगानी सम्मेलनको उद्घाटन गर्दै मन्त्री पुनले जनयुद्धको केन्द्र र परिवर्तनको प्रतीकका रुपमा रहेको रोल्पा अब विकास, समृद्धि तथा लगानीमैत्री जिल्ला हुने घोषणा गर्नुभयो। रोल्पा लगानीका लागि उर्वर क्षेत्र रहेको उहाँको भनाइ थियो। 

विभिन्न अध्ययनले रोल्पामा सुनखानी रहेको पुष्टि भइसकेको भन्दै मन्त्री पुनले अब त्यसको उत्खनन गरेर जिल्ला र मुलुककै समृद्धिका लागि लगानी गर्न सकिने उल्लेख गर्नुभयो। ‘हामीसँग सुन छ तर नुन बाहिरबाट ल्याइरहेका छौं। सुनलाई उत्खनन् गरेर आम्दानीको दर वृद्धि गर्न सक्छौं।  अब त्यसतर्फ ध्यान दिनुपर्दछ।’

रोल्पा जलविद्युत, कृषि, पशुपालन, खानी तथा खनिज र पर्यटन क्षेत्रका लागि राम्रो सम्भावना भएको जिल्ला भएकाले ती क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीलाई मन्त्री पुनले अपील गर्नुभयो।  

नेपाल जलविद्युतमा आत्मनिर्भर मात्र नभएर अब निर्यात गरी आर्थिक आम्दानी गर्ने अवस्थामा पुगिसकेको उहाँको भनाइ थियो। 

सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न लगानी क्षेत्रको पहिचान गरी सरकारको नीति तथा योजनालाई सफल बनाउनुपर्ने मन्त्री पुनले बताउनु भयो। 

नेपालका हरेक नागरिकलाई सबल बनाउन संघ, प्रदेश र स्थानीय सरकार तथा निजी क्षेत्रका लगानीकर्ताबीच सहकार्य हुनुपर्नेमा उहाँको जोड थियो। 

रोल्पा नगरपालिकाको आयोजना तथा जिल्ला समन्वय समिति रोल्पा र उद्योग वाणिज्य संघको समन्वयमा सुरु लगानी सम्मेलन दुई दिनसम्म चल्नेछ।

लगानी सम्मेलनमा पूर्वसभामुख ओनसरी घर्ती, संसदको शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरि घर्ती, ५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ प्रदेश सभा सदस्य दिपेन्द्र पुन ‘सिजल’लगायतको उपस्थिति रहेको छ।

    


प्रतिक्रिया दिनुहोस्