दिल्ली हिंसा : ढुङ्गाले हानेर खुफिया अधिकारीको हत्या, नालीमा भेटियो शव

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ९ : ०६


नयाँ दिल्ली ।  भारतको राजधानी नयाँ दिल्लीमा भड्किएको हिंसामा एक  खुफिया अधिकारीको पनि मृत्यु भएको छ । 

आईबी (इंटेलिजेंस ब्यूरो)का अधिकारी अङ्कित शर्माको शव बुधवार चाँदबागमा फ्याँकिएको अवस्थामा भेटिएको भारतीय अधिकारीहरूले जनाएका छन्। उनलाई ढुङ्गाले हानेर मारिएको बताइएको छ। मृत उनको शव नालीमा फालिएको अवस्थामा भेटिएको हो।

भारतीय मिडियाका अुनसार आईबी अफिसर अंकित चाँदबागका स्थानीय हुन् । ड्युटीबाट उनी विदामा घर गएका थिए। आफ्नै क्षेत्रमा दङ्गा शुरु भएपछि घरबाटै उनि सुचना संकलन गर्न निस्केका थिए। त्यसक्रममा उनलाई ढुङ्गाले हानेर हत्या गरिएको बताइएको छ।

परिवारका सदस्यले शर्माको घर नजिकैका स्थानीयलाई हत्याको आरोप लगाएका छन । २५ वर्षीय अंकित आईबीमा सुरक्षा सहायकको पदमा कार्यरत थिए।

उनको शव चाँदबाग ब्रिजको नालीमा भेटिएको हो। उनलाई मङ्गलबार साँझ चाँदबाँग पुलमा मानिसहरूले घेरेर कुट्दै नालीमा फालेको बताइएको छ। बेपत्ता भएपछि परिवारले उनको खोजी गरेको थियो। 

भारतीय अधिकारीहरूले राजधानी नयाँ दिल्लीमा भड्किएको दङ्गामा परि बुधबार सम्म २० जनाको मृत्यु भएको जनाएका छन्। पछिल्लो जानकारीसँगै २१ जनाको मृत्यु भएको हो। 

सरकारले ल्याएको नागरिकतासँग सम्बन्धित नयाँ विवादास्पद कानुनको समर्थन र विरोध गर्नेहरूबीच गत आइतबार पहिलोपल्ट भिडन्त भएको थियो।

त्यसयता लगातार दङ्गा भइरहेको बताइएको छ।

हिंसाले साम्प्रदायिक स्वरूप लिएको जस्तो देखिएको छ, मानिसहरूलाई तिनीहरूको धार्मिक आस्थाका आधारमा निशाना बनाइएको भन्ने विवरणहरू आएका छन्।

सामाजिक सञ्जालमा प्रस्तुत भैरहेका फोटो, भिडिओ र अन्य विवरणहरूले दिल्ली शहरले बेहोरिरहेको चरम अवस्थाको चित्रण गरेका छन्। मुस्लिम र हिन्दु समुदायबीच दङ्गा भड्किएको हो।

मारिनेहरूमा हिन्दू र मुस्लिम दुवै समुदायका मानिसहरू छन्।

हिंसामा १८९ जनाजति घाइते रहेको बताइएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

विरलै हुने यस्ता घटनामा दिल्लीस्थित उच्च अदालतले मध्यरातमा सुनुवाइ गर्दै, हिंसामा घाइते भएकाहरूलाई सुरक्षित रूपमा नजिकका अस्पतालहरू पुर्‍याउने वातावरण बनाउन सरकार र प्रहरीलाई निर्देशन दिएको छ।


प्रतिक्रिया दिनुहोस्