रौतहट । विवाहको प्रलोभन देखाएर आफ्नै सहकर्मीमाथि पटक पटक बलात्कार गर्ने एक चिकित्सक पक्राउ परेका छन्। आफनै क्लिनिककी महिला सहकर्मीमाथि पटक पटक बलात्कार गरेको आरोपमा रौतहटका चिकित्सक (अहेब) श्यामशुन्दर पटेल पक्राउ परेका हुन्।
मौलापुर नगरपालिका ५ घरभई गरुडा हाल ४ स्थित अर्चना पोलीक्लिनिक एवं रिसर्च सेन्टर सञ्चालन गर्दैआएका ३५ वर्षीय पटेलले आफ्नै सहकर्मीमाथि २ वर्षदेखि बलात्कार गर्दै आएका थिए।
पीडित महिलाको जाहेरीका आधारमा अहेव पटेलमाथी जबरदस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो।
उहाँका अनुसार पीडित महिला र आरोपी पटेलको जिल्ला अस्पताल गौरमा स्वास्थ परिक्षण भइरहेको छ। पछिलो दुई वर्षदेखि गरुडास्थित पोलीक्लिनिक सञ्चालन गरेका आरोपी पटेलमा काम गर्दैजाँदा बिवाहगर्ने प्रलोभन देखाएर आफुलाई पटक–पटक यौनशोषण गरेको पीडितको भनाई छ।
बलात्कारपछि तीन महिनाको गर्भवती रहेको चौधरी थरकी पीडितले बयान दिएकी थिइन् । उनले यसअघि एकवर्ष पहिले पनि पटेलकै गर्भ बसेको र बिभिन्न डरत्रास देखाएर औषधीबाट गर्भ तुहाउन लगाएको बताएकी छिन्। अब बिवाह गर्छु भन्दै जबरजस्ती करणी गरेको पीडितको उजुरीमा उल्लेख छ।