पोखरा । कास्कीको पोखरा महानगरपालिका–२२ कालिमाटी नजिकै कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।
मृत्यु हुनेमा कारमा सवार कास्कीको पोखरा महानगरपालिका–१७ निवासी २१ वर्षीया जमुना क्षेत्री रहनुभएको छ।
शुक्रबार साढे ४ बजेतिर कालिमाटी नजिकैको सडकखण्डमा ग २ ख ७७६३ नम्बरको कार अनियन्त्रित भई सडकको पर्खालमा ठोक्किन पुग्दा दुर्घटना भएको प्रहरी प्रवक्ता एवं डीएसपी राजकुमार केसीले बताउनुभयो।
दुर्घटनामा तनहुँ बन्दीपुर घर भई हाल पोखरा वडा नं. १७ मा बस्ने २१ वर्षीया विना थापामगर, उनका अन्दाजी ४ वर्षीय छोरा अनिष थापामगर र मृतक जमुनाकी डेढ वर्षकी छोरी घाइते भएको केसीले बताउनुभयो।
घाइते आमा–छोराको विरौटास्थित नमस्ते अस्पताल र बालिकाको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
चालकले मादक पदार्थ सेवन गरेर कार चलाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ।
गुल्मीको सत्यावती गाउँपालिका १ घर भएका कार चालक २८ वर्षीय शिव पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।