काठमाडौं । शिवरात्रिका अवसरमा काठमाडौंस्थित पशुपतिको मन्दिर परिसर साधु–सन्त र बाबाहरुको बिशेष चहलपहल देखिएको छ । शिवरात्रिको अवसरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट आउने साधुसन्तहरुले पशुपति क्षेत्र भरिभराउ भएको छ ।
नेपालका विभिन्न ठाउँसहित भारतबाट समेत धेरै साधुहरु पशुपतिमा आएका छन् । हरेक वर्ष शिवरात्रिको लागि हजारौं साधुहरु पशुपति आउने गर्दछन् । पशुपति पुगेका भक्तजनहरु पनि साधु–सन्त र बाबाहरुसँग फोटो खिचाउन व्यस्त देखिन्थे ।
साधुलाई पर्व समापनपछि दक्षिणासहित बिदाइको समेत व्यवस्था छ । शिवरात्रिपछि साधुलाई त्रिदिवसीय रूपमा मालपुवा, खिचडी, दही, फलफूल तथा नगद दक्षिणासहित बिदाइको व्यवस्था गरिएको छ । वि.सं १९०३ को कोतपर्वमा मारिएका भाइभारदार गाडिएको स्थानमा साधुको पाउ परोस् भनेर कालमोचनमा साधु आउने र बिदाइ गर्ने प्रचलन रहेको छ ।