बुहानबाट उद्धार गरिएका यात्रु चढेको बसमाथि आक्रमण

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ८ : ०७


चीनको कोरोना भाइरस प्रभावित बुहानबाट उद्धार गरी लगिएका मानिस चढेको बसहरुमाथि आक्रमण गरिएको छ। युक्रेनको एउटा सहरमा प्रदर्शनकारीहरूले चीनको बुहानबाट उद्धार गरिएका मानिसहरू चढेका सवारी साधनमा आक्रमण गरेका हुन्।

चीनबाट लगिएका ती मानिसहरुलाई युक्रेनको नोभी सान्जारीस्थित एउटा अस्पतालमा १४ दिन क्वारेन्टाइनमा राख्न लगिँदै थियो।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रदर्शनकारीहरूलाई सहानुभूतिपूर्वक व्यवहार गर्न आग्रह गरेका छन्।

युक्रेनको सुरक्षा निकायका अनुसार रक्षा मन्त्रालयलाई उद्धृत गरिएको एउटा इमेलमा उद्धार गरिएका केही मानिसमा कोभिड–१९ अर्थात् कोरोनाभाइरसको सङ्क्रमण भएको मिथ्या दाबी गरिएको थियो।

सुरक्षा सेवाका अधिकारीहरूले त्यसबारे छानबिन गरिरहेको एउटा विज्ञप्तिमा उल्लेख छ।

चीनको वुहानबाट ४५ युक्रेनी र २७ विदेशी नागरिकलाई विमान चढाएर पूर्वी युक्रेनको हार्किभ क्षेत्रमा लगिएको थियो।

उनीहरूलाई छ वटा बसमा राखेर अस्पताल लग्दै गर्दा प्रदर्शनकारीहरूले बाटोमा आगो बालेर तथा ढुङ्गा हानेर विरोध गरेका थिए।

स्वास्थ्यमन्त्रीले बसमा भएका कोही पनि बिरामी नभएको बताएका छन्।

युक्रेनको कूटनीतिक नियोगका अनुसार तीन युक्रेनी र एक कजाकस्तानी नागरिकलाई ज्वरो आएको पाइएपछि चीनमै छोडिएको थियो।

तनाव बढेपछि प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र आन्तरिक मामिलामन्त्रीले उक्त नगरको भ्रमण गरेका थिए।

स्थानीय सञ्चारमाध्यममा प्रकाशित एउटा भिडिओमा आन्तरिक मामिलामन्त्रीले प्रदर्शनकारीहरूलाई सङ्क्रमित व्यक्तिहरूलाई नल्याइएको भनेर आश्वस्त बनाउन खोजेको देखिन्छ।

राष्ट्रपति जेलेन्स्कीले देशवासीलाई करुणा देखाउन र विरोध प्रदर्शन नगर्न आग्रह गरेका छन्।

‘अधिकांश यात्री ३० वर्षमुनिका छन्। हामी धेरैका लागि उनीहरू सानै छन्’ उनले विज्ञप्तिमा भनेका छन्।

‘तर एउटा खतराबारे म उल्लेख गर्न चाहन्छु। हामी सबै मानव भएको र हामी सबै युक्रेनी भएको बिर्सिने खतरा। महामारी फैलिएको बेला वुहान पुगेका समेत हामी सबै।’

एक तथ्याङ्क अनुसार अहिलेसम्म ७६,००० भन्दा बढी मानिसमा कोभिड–१९ भएको पुष्टि भएको छ भने २,२४७ जनाको मृत्यु भएको छ। अधिकांश सङ्क्रमण र मृत्युका घटना चीनमा भएका छन्।

बीबीसीबाट


प्रतिक्रिया दिनुहोस्