काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँका पूर्व प्रेस सल्लाहकार कुन्दन अर्यालले आफ्नै वरिपरि माइक्रोस्कोपले अनुगमन गर्न सुझाव दिनुभएको छ।
प्रधानमन्त्रीका विश्वासपात्र तथा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री (राजीनामा दिइसकेका) गोकुल बाँस्कोटाको अडियो टेप सार्वजनिक भएपछि पूर्वसल्लाहकार अर्यालको यस्तो सुझाव आएको हो।
प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा १ वर्ष बढी काम गर्नुभएका पत्रकारिताका उप–प्राध्यापक समेत रहनुभएका डा. कुन्दन अर्यालले ट्वीट गर्दै यस्तो बताउनुभएको हो।
‘बन्द कोठाका अनियमितता र जालसाजी घामको उज्यालोमा ल्याउने सूचनाको निर्वाध, निर्भय र निरन्तर प्रवाहले नै हो। धन्य यो देश यस मामिलामा गरिब छैन।, उहाँले ट्वीटमा लेख्नुभएको छ, ‘प्रमज्यू सबैलाई विश्वास गर्नुभयो, अब तपाईंले आफ्नै वरिपरि साँच्चै माइक्रोस्कोपिक अवजर्वेसन गर्नुपर्ला। सुझाव।’
अर्यालको ट्वीटले प्रधानमन्त्रीको सचिवालयतर्फ नै संकेत गरेको अनुमान लगाउन गाह्रो छैन। उहाँले विष्णु रिमाल नेतृत्वको प्रधानमन्त्री ओलीको सचिवालय र प्रधानमन्त्रीको नजिकका भनिएका व्यक्तिहरुलाई नै अनुसन्धानको दायरामा ल्याउनुपर्नेतर्फ संकेत गर्नुभएको छ।
गत मंसिरमा प्रधानमन्त्री ओलीले सचिवालय नै बदल्ने चर्चा चल्यो। सबैको राजीनामा मागियो तर अन्तिममा सबैको राजीनामा स्वीकृत गरेर नयाँ सचिवालय बनाउँछु भनेका प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकार अर्याल, प्रेस संयोजक चेतन अधिकारी र अरु दुई÷तीन जना सचिवालयका सदस्यहरुलाई बाहेक अरु सबै पुरानै टीमलाई फर्काएका थिए।
अर्यालले उक्त ट्वीट @kpsharmaoli र @rishikeshdahal लाई मेन्सन पनि गर्नुभएको छ।
हेर्नुस् अर्यालको ट्वीट–
बन्द कोठाका अनियमितता र जालसाजी घामको उज्यालोमा ल्याउने सूचनाको निर्वाध, निर्भय र निरन्तर प्रवाहले नै हो। धन्य यो देश यस मामिलामा गरिब छैन। प्रमज्यू सबैलाई विश्वास गर्नु भयो, अब तपाईंले आफ्नै वरिपरि साँच्चै माइक्रोस्कोपिक अवजर्वेसन गर्नु पर्ला। सुझाव।@kpsharmaoli @rishikeshdahal
— Kundan Aryal (@TheRealKalamchi) February 20, 2020