काठमाडौँ । लामो समयदेखि अवरुद्ध जनकपुर–जयनगर रेल आधुनिक सुविधासहित यसै आर्थिक वर्षभित्र सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षभित्रै सुविधायुक्त रेल सेवा सञ्चालन गर्ने कार्ययोजना बनाई काम तीव्र बनाएको छ । त्यस क्रममा भारतको चेन्नईमा दुईवटा आधुनिक सुविधाका रेल निर्माण भइरहेका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले भन्नुभयो, “धरै वर्ष अवरुद्ध रेल सेवा आगामी असारभित्रै सञ्चालनमा आउने छ ।
आफ्नै भूमिमा सुविधायुक्त रेल चढ्ने नेपालीको सपना यसै आर्थिक वर्षमा पूरा हुने छ । ” उहाँले भन्नुभयो मन्त्रालयले चालू आर्थिक वर्षभित्रै रेल सेवा सञ्चालनमा ल्याउने कार्ययोजना तयार गरी पूर्वतयारी तीव्र बनाएकाले निर्धारित समयमै रेल सञ्चालनमा आउँछ भन्नुभयो । उहाँले भन्नुभयो, “भारतको चेन्नईमा निर्मित नेपाल ल्याइने दुईवटा रेलमध्ये एउटाको निर्माण सम्पन्न भई सफल परीक्षणसमेत भइसकेको छ । अर्कोको निर्माण एक महिनाभित्र सम्पन्न हुने छ ।
जयनगर–जनकपुर ३५ किलोमिटर रेलवे ट्र्याक निर्माण भइसकेको छ । विदेशी प्राविधिकहरू भर्ना गर्ने निर्णय भइसकेको र रेलको चालक खोज्ने काम पनि भइरहेको छ । ’’ भारत सरकारको पूर्ण स्वामित्वमा रहेको कोकन रेलवे कर्पोरेसन लिमिटेडले सो रेल निर्माण गरिरहेको छ । जयनगर–जनकपुर रेलवे ट्र्याक, घर लगायतका संरचना र जयनगर स्टेसन चाँडै नै भारतले नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रमको तयारी भइरहेको जानकारीसमेत उहाँले दिनुभयो ।
नेपाल र भारतबीच यसअघि भएको सम्झौैतामा नेपालमा रेल सेवा सञ्चालन नहुन्जेल जयनगर रेलवे स्टेसन नेपालले नै सञ्चालन गर्ने व्यवस्था गरिएको छ । “नीतिगत काम पूरा गरी रेलवे ट्र्याक, घर लगायतका संरचना तथा जयनगर स्टेसन भारतबाट जिम्मा लिइसकेपछि चालू आर्थिक वर्षभित्रै रेल सञ्चालनमा ल्याउँछौँ, यो नै हो मन्त्रालयको स्वीकृत कार्य योजना”, उहाँले भन्नुभयो, “रेल निर्माण भइसक्यो तर रेल ल्याएर आफैँ गुड्दैन ।
त्यसका लागि नीतिगत काम तथा तयारी धमाधाम भइरहेको छ । ” “रेल चलाउने प्राविधिकहरूको खोजी स्वदेशमा पनि भइरहेको छ । अहिलेसम्म एक जना नेपाली रेल चालक मन्त्रालयको सम्पर्कमा आई कामको जिम्मेवारी पाइसक्नुभएको छ”, मन्त्री नेम्वाङले भन्नुभयो, “रेल सञ्चालनका लागि पाएजति नेपाली प्राविधिक नै राखिने हो । नेपाली नपाएको अवस्थामा विदेशीलाई नै करारमा भर्ना गरी रेल सेवा सञ्चालनका लागि मन्त्रिपरिषद्बाट समेत निर्णय भइसकेको छ । ” -गोरखापत्र दैनिक