काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले ठेक्का नपाएपछि मन्त्रीबाँस्कोटासँगको अडियो सार्वजनिक गर्ने दुई जना विरुद्ध कारवाही गर्न निर्देशन दिएको छ।
संचारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुसका लागि बार्गेनिङ गरेको अडियोमा सुनिएका विजयप्रकाश मिश्र सहित प्रभात किशोर उपाध्यायलाई कारबाही गर्न समितिले निर्देशन दिएको छ।
समितिले सुरक्षण स्थापना सम्वन्धित विचाराधीन विषयसँग जोडिएका सांसदको चरित्रहत्या गर्ने प्रयास भएकाले साइबर अपराधमा मुद्दा चलाउन निर्देशन दिदै नेपाल प्रहरीको साइबर क्राइम व्यूरोलाई पत्राचार गरेको हो।
विजयप्रकाश मिश्र जापानमा लामो समय बसेका लमजुङका बासिन्दा हुन्। उनी जापानमा नेपाली पठाउने काम गर्दथे।
पछिल्लो समय स्वीटजरल्यान्डका विभिन्न कम्पनिको नेपाली एजेन्टका रुपमा काम गर्दै आएका छन्।
उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्वीस कम्पनिका तर्फबाट एजेन्टका रुपमा सक्रियता देखाएका थिए।
के हो सेक्युरिटी प्रिन्टिङ प्रेस ?
स्वदेशमै सुरक्षित मुद्रण गर्ने उद्देश्यले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना गर्ने नेपाल सकारले निर्णय गरेको थियो।
प्रेस स्थापना हुँदा राष्ट्रिय परिचयपत्र, पासपोर्ट, स्मार्ट लाइसेन्स, जग्गाधनी प्रमाणपुर्जा, अन्तःशुल्क स्टिकर, सिमकार्ड, रिचार्ज कार्ड, ब्याङ्कका एटीएमदेखि मौद्रिक नोटसम्मको छपाइ नेपालमै गर्न सकिने बताइन्छ।
बिहीवार संसद्को सार्वजनिक लेखा समितिमा पनि प्रिन्टिङ प्रेस खरिदको विषयमा छलफल हुने पूर्वनिर्धारित कार्यक्रम थियो।
मिश्रले कम्पनीबाट प्राप्त हुने ७५ करोडमध्ये ५५ करोड रुपैयाँ कमिशन दिँदा पनि सञ्चारमन्त्रीले जर्मन कम्पनीबाट प्रिन्टर ल्याउन खोजेको रिसमा उक्त अडियो सार्वजनिक गरेका थिए।