टेप प्रकरणमा काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ८ : ३७


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरोध गर्ने तयारी गरको छ । 

राष्ट्रियसभा बैठक अवरुद्ध गरेको काँग्रेसले प्रतिनिधिसभा बैठकपनि अवरुद्ध गर्ने जनाएको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरी छानबिन गर्न काँग्रेसले सरकारसँग माग गरेको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार बिहान विज्ञप्ती जारी गरेर बर्खास्त गर्नुपर्ने माग गरिएको उल्लेख गर्दै पत्रकार सम्मेलनमा भन्नुभयो, ‘व्यक्तिगत रुपमा कुनै राजनीतिक आग्रह पूर्वाग्रह छैन् ।

यो विषयमा कसको संलग्नता थियो भन्ने कुरा खोज्नुपर्ने दायित्व त छ ।’ कांग्रेसले बास्कोटालाई बर्खास्त गरी अनुसन्धान गर्ने निकायलाई सहयोग गर्ने दायित्व रहेको बताएको छ ।

भ्रष्टाचारको कुनै पनि मुद्दामा आग्रह पूर्वाग्रहभन्दा माथि रहेर तथ्यपूर्ण ढंले अनुसन्धान गर्नुपर्छ भन्ने मान्यता कांग्रेसको भएको प्रवक्ता शर्माले बताउनुभयो । उहाँले यो विषयमा सरकारको आधिकारीक जवाफ सार्वजनिक रुपमा आउनुपर्ने र तत्काल एक्सनमा जानुपर्ने माग पनि कांग्रसको रहेको बताउनुभयो ।

बिहीबार नै कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरुले निर्वाचन समितिसँग स्थानीय तहहरुको समायोजनको प्रगतिको विषयमा जानकारी लिएका छन् ।

प्रवक्ता शर्माका अनुसार निर्वाचन समितिका तर्फबाट पूर्ण बहादुर खड्का र राधेश्यम अधिकारीले दिएको जानकारी अनुसार अहिलेसम्म ३० जिल्लामा समायोजनले पूर्णता पाएको र अन्य ३० जिल्लामा अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । अन्य जिल्लाहरुमा फागुन १५ गतेभित्र काम सक्नेगरी केन्द्रीय कार्यसमितिले सहजीकरण गर्नुपर्ने विषयहरुमा पनि छलफल भएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्