सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया तत्काल अघि नबढाउन लेखा समितिको निर्देशन

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ७ : २०


काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया तत्काल अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको अडियो नै सार्वजनिक भएपछि उक्त विषयमा चाँसो देखाउँदै बिहीबार बसेको समितिको बैठकले सो निर्देशन दिएको हो।

संसद्को सार्वजनिक लेखा समितिमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षण मुद्रण केन्द्रसँग सम्बन्धित सेक्युरिटी प्रेसका बारेमा बिहीबार बैठक राखिएको थियो।

लेखा समितिले सेक्युरिटी प्रेस खरिदबारे छलफल गर्न सञ्‍चार मन्त्री बाँस्कोटालाई बोलाए पनि उहाँ कञ्चनपुर भएकाले उपस्थिति नभएको बताइएको छ।

बैठकमा जीटुजी प्रस्तावमा प्रतिस्पर्धा नभएको, लागत अनुमान यथार्थ नभएको, पोल्यान्डको सरकारी कम्पनी पीडब्ल्युपीडब्ल्यू एसएले प्रधानमन्त्रीलाई लेखेको पत्रको बेवास्ता गरिएको, स्वीस कम्पनी केबीए नोटासल्सको प्रस्तावको बेवास्ता भएको विषयमा छलफल गर्ने कार्यसूची राखिएको थियो।

त्यस्तै, विभिन्न कम्पनीको प्रस्तावित मूल्यमा ठूलो भिन्नता देखिएको, सरकारले प्राप्त गरेको प्रस्ताव र मन्त्रिपरिषदको निर्णयमा थुप्रै अस्पष्टता देखिएकोबारे पनि आजको बैठकमा छलफल भइरहेको छ।

त्यस्तै प्रस्तावित कम्पनीको अनुभवमा कमी देखिएको र संकट समाधान, समन्वय र मितव्ययीता अपनाइएको नदेखिएकोबारे समितिले छलफल गरेको हो।
 


प्रतिक्रिया दिनुहोस्