यौन सम्बन्धबारे ९ भ्रम

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १ : ५९


नेपाली समाजमा यौनलाई यति धेरै संकीर्ण र लाजको विषय बनाइएको छ कि हामी एक आपसमा खुलेर कुरा गर्न नै सक्दैनौं। केटा र केटी साथी त धेरै टाढाको कुरा भयो, केटा–केटा र केटी–केटी पनि यसबारे खुलस्त भएर कुरा गर्न हिच्किचाउँछन्। 

यौन सम्पर्क, यौन स्वास्थ्यसम्बन्धी कुनै समस्या वा अरु केही कुरा पनि खुलेर कुरा नगर्नुका पछाडि हामी हुर्किदै अग्रजहरुले बनाइदिएको इज्जत, प्रतिष्ठा र लाजको पहाडले काम गरिररहेको छ। समान लिङ्गका साथी–साथीबीच आफ्ना यौन अंगहरुमा केही समस्या आए पनि सहजै भनिदैन । लुकाइन्छ तर त्यहीँ पछि ठूलो समस्याका रुपमा देखियो भने मात्रै अपस्ताल दौडिनुपर्ने बेला लाज मानी मानी डाक्टरलाई सुनाउने गर्छौं।

अनि कतिपय सन्दर्भमा कसैले भनिदिएको वा कतै लेखेको पढेर नै यौनका बारेमा थुप्रै भ्रमहरु पालेर हामी बसिरहेका छौं। वास्तविक जीवनमा नहुने कुराहरु, यथार्थ नभए पनि यौनलाई रहस्य बनाएर हामी त्यहीँ भ्रमका कारण भागिरहेका हुन्छौं। आज हामी यहाँ यौनसँग सम्बन्धित केही भ्रमहरुका बारेमा चर्चा गरौं ।

भ्रम १ः यौनाङ्ग सानो वा ठूलो हुनुले सन्तुष्टिमा फरक पर्छ

यौन जीवनमा दम्पत्तिको यौनाङ्ग (लिङ्ग–योनी) सानो वा ठूलो हुँदा यौन सन्तुष्टिमा फरक पर्छ भन्ने नेपाली समाजमा ठूलो भ्रम छ। यौनाङ्ग कत्रो हुनुपर्छ? के त्यसको कुनै निश्चित मापदण्ड छ र? कत्रो यौनाङ्गलाई सानो र कत्रोलाई ठूलो भन्ने? यौन सन्तुष्टि योनीमा लिङ्ग पसाएर गर्ने क्रियाले मात्रै हुँदैन। त्यसका लागि दुवैजना शारीरिक तथा मानसिक रुपले तयार हुनुपर्दछ। दुवैजना एकाग्र, एकचित्त भएर, विभिन्न फोर प्ले जस्ता तरिका अपनाएर एक–अर्कालाई उत्तेजित बनाएर गरिने सम्भोगले मात्रै पूर्ण सन्तुष्टि दिलाउँछ। त्यसमा यौनाङ्गको आकार गौण हुन्छ ।

भ्रम २ः महिनावारीको बेला गर्भ रहदैन

महिलाहरुका लागि हरेक महिनाका ५–७ दिन विशेष दिनहरु हुने गर्दछन्। महिलाहरुको नियमित महिनावारीको चक्रले हरेक महिना छुने गर्दछ। महिनावारीको बेला गर्भ रहदैन, त्यसैले परिवार नियोजनका अस्थायी साधनहरुको प्रयोग जरुरी छैन भन्ने ठूलो भ्रम छ।

यो बेला गर्भ रहने सम्भावना अलि कम हुन सक्ला तर गर्भ नै रहँदैन भनी असुरक्षित यौन सम्पर्क गर्दा गर्भ रह्यो भने? यो खतरनाक समय हो। त्यसैले त्यस्तो भ्रममा रहेर हेलचक्र्याँइ गर्नुहुँदैन। दोस्रो, महिनावारीको बेला महिलाहरुको पाठेघर, योनीका भित्री अंगहरु केही कमजोर भएका हुन्छन्, यस्तो बेला योनीको भित्री भागमा घाउ हुनसक्ने भएकाले विशेष सजगता अपनाउनु पर्दछ।

भ्रम ३ः पहिलोपटक यौन सम्पर्क गर्दा योनीबाट रगत आउँछः

पहिलो पटक यौनसम्बन्ध राख्दा योनीबाट रगत आउँछ भन्ने कुरा पनि भ्रामक हो। हाम्रो देशमा यस्तो कुरालाई विश्वास गर्नेको संख्यामा कमी छैन। पहिलो पटक यौनसम्बन्ध राख्दा यदि महिलाको योनीबाट रगत बग्छ भने त्यो उनको कुमारीत्वको प्रमाण हो भनेर पूरै भ्रम सिर्जना गरिएको छ, यो सरासर गलत कुरा हो। धेरै महिलाहरुको यस्तो झिल्ली जन्मिँदादेखि नै हुँदैन। त्यसै कतिले कठोर व्यायाम गर्नाले अथवा खेलकुदको क्रममा झिल्ली फाट्ने गर्छ। त्यसैले यो भ्रामक कुरालाई चाँडोभन्दा चाँडो हटाउन आवश्यक छ।

भ्रम ४ः पुरुष हरेक ७ सेकेन्डमा यौनको बारेमा सोच्दछन्:

यस्तो धेरै मानिसहरु सोच्ने गर्छन् तर तपाईं आफैं सोच्नुहोस के यो सम्भव हुन्छ? २०११ मा ओहियो यूनिभर्सिटीद्वारा गरिएको एउटा अध्ययनअनुसार पुरुष दिनमा केवल १८ पटक यौनको बारेमा सोच्ने गर्छन्। त्यस्तै महिलाहरु पनि दिनमा १० पटक यौनको बारेमा सोच्ने गर्छन्।

भ्रम ५ः ढाड दुख्दा यौनसम्बन्ध गर्नु हुँदैन:

ढाड दुख्दा यौन सम्बन्ध राख्नु हुँदैन भन्ने भनाईको कुनै सही तर्क छैन। जबसम्म तपाईंलाई डाक्टरले यौन सम्बन्ध नराख्नु भन्दैनन्, तबसम्म तपाईं यौनमा रमाउन सक्नुहुन्छ। यदि तपाईंको ढाड दुखिरहेको छ भने त्यस्तो आसन अपनाउनु पर्छ। जसले तपाईको ढाडमा अतिरिक्त दबाब नपारोस्। 

भ्रम ६ः यौन सम्बन्ध राख्दा हृदयाघात हुने सम्भावना बढ्छ:

यौन सम्बन्ध राख्दा हृदयघात हुन्छ भन्ने प्रमाण अहिलेसम्म फेला परेको छैन। कहिलेकाहीँ यौन सम्बन्ध राख्दा हृदयघात भएको हुन सक्छ । तर, विज्ञानले यसलाई मिथक मान्छ। यसको सुरक्षाका लागि जुन व्यक्तिलाई पहिला पनि हृदयघात भइसकेको छ। उसले ४ देखि ६ हप्तासम्म यौन क्रियाकलापबाट टाढा रहने सल्लाह दिन सकिन्छ। बरु के भनिन्छ भने नियमित यौन सम्बन्धमा रहेका मानिसलाई हृदयघातको समस्या कम हुन्छ।

भ्रम ७ः यौनसम्बन्धको क्रममा अर्गेज्म अनुभव हुनु:

यस्तो होस् भन्ने हरेकको सपना हुन्छ। तर, वास्तविक संसारको कुरा गर्नुपर्दा व्यवहारिक रुपमा सम्भव हुँदैन। अर्गेज्मको लागि केवल यौन मात्र नभएर अरु धेरै कुराहरु पनि जिम्मेवार हुन्छन्। यो शारीरिकभन्दा धेरै मानसिक कारकहरुमा निर्भर हुन्छ। हरेक पटक अर्गेज्मको अनुभव प्राप्त हुनुपर्छ भन्ने आवश्यक हुँदैन।

भ्रम ८ः कण्डम नलगाएर गर्भ रोक्ने काइदा:

कन्डम नलगाई यौन सम्बन्ध राख्नु सबैलाई रमाइलो र वाइल्ड लाग्न सक्छ। तर, त्यस्तो गर्ने सल्लाह कसैले पनि दिँदैन। वीर्य पतन हुनुअगाडि नै बाहिर निकाल्नु पनि जोखिमपूर्ण तरिका हो। यदि तपाई गर्भ राख्न चाहनुहुन्न भने कन्डमको प्रयोग अति नै उपयुक्त तरिका हो। हुनसक्छ तपाईंहरु दुवैले कण्डम नलगाएर सफलतापूर्वक यस प्रकारका तरिकाहरु अपनाउनु भएको होला। तर, उत्तेजित भएको बेला केवल एक सेकेन्डको गल्तीले ठूलो समस्या बन्न सक्छ।

भ्रम ९ः यौन सम्बन्धभन्दा पहिला पिसाब गर्नाले एसटीआईको सम्भावना कम हुन्छ:

यो मिथक पनि तथ्यहीन र हास्यास्पद छ । यौन सम्बन्धभन्दा पहिला पिसाब गर्नाले एसटीआई अर्थात् सेक्सुअली ट्रान्समिटेड इन्फेक्सन्सको सम्भावना कम हुनुको कुनै वैज्ञानिक प्रमाण छैन। यौन सम्बन्धपछि पिसाब फेर्नाले एसटीआईमा फरक पर्छ भन्ने कुरा सही हो। यौनसम्बन्ध पछि पिसाव फेर्नाले ब्याक्टेरिया बाहिर निस्कन्छन्, जसले पोस्ट सेक्स यूटीआईको सम्भावना कम हुन्छ।


प्रतिक्रिया दिनुहोस्