दाङ । दोस्रो स्थापना दिवसको अवसरमा ५ नं. प्रदेश सरकारले फागुन १०, ११ र १२ गते दाङमा प्रदेश एक्स्पोको आयोजना गरेको छ।
गत माघ १० गते आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीको संयोजनमा ३८ सदस्यीय मूल समारोह समिति र ९ वटा उपसमिति गठन गरी प्रदेश सरकार प्रदेश सरकार एक्स्पोको व्यापक तयारीमा जुटेको छ। मुख्यमन्त्री शंकर पोख्रेल एक्स्पोको प्रमुख सल्लाहकार हुनुहुन्छ भने सभामुख पूर्णबहादुर घर्ती सल्लाहकार हुनुहुन्छ।
प्रदेशमा पहिलोपटक आयोजना गरिएको एक्स्पोले प्रदेशबासीमा निकै उत्साह देखिएको छ। प्रदेश नं. ५ का मुख्यमन्त्री एवं प्रदेश एक्स्पोका प्रमुख सल्लाहकार शंकर पोख्रेलले एक्स्पोले प्रदेशका सम्भावनाहरु उजागर गर्ने र यस क्षेत्रको उत्पादन एवं संस्कृतिको प्रवद्र्धन गर्ने बताउनु भयो। एक्स्पो संयोजक एवं आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले एक्स्पोलाई उत्सवकै रुपमा मनाउने तयारी भइरहेको बताउनु भयो।
एक्स्पोका उद्देश्यहरु
प्रदेश सरकारले एक्स्पोलाई प्रदेश सरकार स्थापनाको दुई वर्षको उपलब्धिबारे जानकारी गराउने र ५ नं. प्रदेशभरिका स्थानीय उत्पादन, मौलिक लोक कला, संस्कृति, स्थानीय ज्ञान, सीप, प्रविधिहरुको प्रवद्र्धन गर्ने उद्देश्य बताएको छ। मूलरुपमा प्रदेश सरकार स्थापनादेखि हालसम्मका गतिविधि र उपलब्धिबारे जानकारी दिने, प्रदेश नं. ५ को विविधता, उत्पादन, पहिचान, संस्कृति र विकासको स्थितिको जानकारी प्रदान गर्ने, ‘समृद्ध प्रदेश, खुशी जनता’को लक्ष्य पूरा गर्न समान उत्साह र समान खुशी पैदा गर्न अभिप्रेरित गर्ने, प्रदेश नं. ५ मा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा तथा संस्कृतिको विकासलाई नमूनाको रुपमा स्थापना गरी विकासमा उत्साह ल्याउने र प्रदेश सरकार र स्थानीय तहको सम्बन्धलाई सुदृढीकरण गर्ने ५ वटा उद्देश्य प्रदेश सरकारले लिएको छ।
के–के छन् त कार्यक्रमहरु ?
प्रदेश एक्स्पोमा प्रदेश सरकारका ७ मन्त्रालय, प्रदेश योजना आयोग, ५ नं. प्रदेशका १२ जिल्ला, दाङका जिल्ला समन्वय समिति र १० पालिकाको विशेष प्रस्तुति र प्रदर्शनी रहनेछ भने विद्यालय, कलेज, समुदाय र निजी क्षेत्रबाट महत्वपूर्ण कार्यक्रम, प्रस्तुति र प्रदर्शन रहेको छ।
एक्स्पोमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दुई वर्षको अवधिमा गरेका कार्यहरुको डिजिटल फ्लेक्स बोर्ड तथा अन्य माध्यमबाट प्रस्तुतिसहित डकुमेन्ट्री तथा भिडियो प्रदर्शन गर्नेछ। आर्थिक मामिला तथा योजना मन्त्रालयले एक्स्पोमा प्रदेशअन्तर्गतका स्थानीय तहका अधिकारीहरुका लागि वित्तीय व्यवस्थापनको परामर्श तथा तालिम सञ्चालन गर्नेछ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले विपद् अवस्थामा गरिने उद्दार कार्यको अभ्यास, राहत व्यवस्थापन तथा वितरण प्रणालीको प्रस्तुति दिनेछ भने एक्स्पोमा भौतिक तथा पूर्वाधार विकास मन्त्रालयले नवीन निर्माण प्रविधि तथा भूकम्प प्रतिरोधी संरचना सम्बन्धी प्रदर्शनी, भवन निर्माण प्रविधि, खानेपानी, सिंचाइ, नवीन तथा नवीकरणीय ऊर्जा सम्बन्धी प्रदर्शनी र झोलुङ्गे पुलको डेमोन्स्ट्रसन आदि कार्यक्रम प्रस्तुत एवं प्रदर्शन गर्नेछ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले होमस्टे सञ्चालनका लागि हस्पिटालिटी सम्बन्धी तालिम, स्थानीय प्रविधि र उत्पादनहरुको प्रदर्शन, नवप्रवर्तन प्रविधिमा आधारित कार्यहरुको प्रस्तुति, आर्ट एण्ड क्राफ्ट प्रदर्शनी, थाङ्का पेन्टिङ, दुई वटा मण्डला निर्माण, चर्या नृत्य, सारंगी वादन तथा प्रदेश नं. ५ का नाच तथा साँस्कृतिक झाँकीहरुको प्रस्तुति दिनेछ।
सामाजिक विकास मन्त्रालयले योगा, मेडिटेसन, माइन्ड फूलनेस कार्यक्रम, शैक्षिक तथा वैज्ञानिक कार्यक्रमहरु, युवा तथा बालबालिकाका लागि नवीन खेलहरु, बृहत स्वास्थ्य शिविर, विशेषज्ञ डाक्टरद्वारा मुटु र क्यान्सर रोगको निःशुल्क परीक्षण, इ–स्वास्थ्य, टेलिमेडिसिन, इ–सिकाइ प्रविधिहरुको प्रस्तुति गर्नेछ भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ५ नं. प्रदेशका प्रमुख कृषि प्रविधि तथा उत्पादनहरुको प्रदर्शनी, भूमि व्यवस्था तथा सहकारी सम्बन्धी प्रदर्शनी, पानी शुद्धिकरण, जैविक मल, खोप आदिको प्रत्यक्ष सेवा तथा जानकारी प्रवाह गर्नेछ।
प्रदेश योजना आयोगले दुई वर्षका गतिविधि, प्रगति तथा सेवा प्रवाहबारे जानकारीसहित आवधिक योजनाबारे प्रस्तुति दिनेछ। यी कार्यक्रम बाहेक प्रदेश एक्स्पोमा प्रदेश नं. ५ का १२ जिल्लाका पहिचान झल्किने उत्पादन, लोक–कला, नाच, झाँकी, स्थानीय खाना तथा परिकारहरुको प्रस्तुति एवं प्रदर्शनी हुनेछ। निजी क्षेत्र, विद्यालय–कलेज एवं समुदायबाट विविध आविस्कार एवं उत्पादनहरुको प्रदर्शनी रहनेछन्।
कस्तो छ तयारी ?
गत माघ १० गते मूल समारोह समिति गठनसँगै एक्स्पो संयोजक एवं आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी अहोरात्र एक्स्पो तयारीमा जुट्नुभएको छ। मन्त्री केसीको संयोजन र निर्देशनमा सांसद, राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, १२ वटै जिल्लाका स्थानीय पालिका, सञ्चारकर्मी, उद्योगी व्यवसायी तथा अन्य क्षेत्र, समुदाय र व्यक्तिहरु एक्स्पोको तयारीमा खटेका छन्। मन्त्री केसीले सबै कार्य व्यवस्थित एवं उत्साहप्रद रुपमा भइरहेको बताउनु भयो।
जिल्ला समन्वय समिति दाङका उप–प्रमुख एवं अतिथि स्वागत तथा व्यवस्थापन उपसमितिका संयोजक श्रीधर शर्मा पौडेलले एक्स्पो स्थल निर्माण कार्य सकिएको र स्टल एवं मञ्च निर्माणको काम भइरहेको बताउनु भयो। उप–प्रमुख पौडेलले एक्स्पोको उत्कृष्ट व्यवस्थापनका लागि दाङका सबै क्षेत्र र निकाय उत्साहपूर्वक परिचालित भएको बताउँदै प्रदेशभरिका करिब १ हजार विशिष्ट पाहुनाहरुको स्वागत तथा व्यवस्थापनका लागि होमस्टे निर्माण गरिने जानकारी दिनुभयो।
तुलसीपुर उपमहानगरपालिकाको बेलझुण्डीमा हुन लागेको प्रदेश एक्स्पोमा सरकारी ५० वटा र निजी क्षेत्रका पाँच सय स्टल रहनेछन्।