ब्रेनट्यूमरपीडित घर्तीले गरे सहयोगको अपील

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १० : ४२


काठमाडौं । उपचार खर्च नभएको भन्दै रोल्पाका ब्रेन ट्यूमरपीडित केशुराम घर्तीले सहयोगका लागि अपील गर्नुभएको छ।

३८ दिनदेखि अघिदेखि काठमाडौं बाँसबारीस्थित न्यूरो अस्पतालको आइसियूमा उपचार गराइरहेका सुनिलस्मृति गाउँपालिका वडा नं. ८ अरेसका ४७ वर्षीय केशुराम घर्तीमगरले आर्थिक समस्या भएकाले उपचार प्रक्रिया रोकिएको भन्दै सहयोगको अपील गर्नुभएको हो।

अहिलेसम्म करिब १५ लाखजति खर्च भइसकेको र उपचारका लागि थप खर्च गर्ने अवस्था नभएपछि सहयोगका लागि याचना गर्नुपरेको केशुरामका छोरा कुलराज घर्तीले बताउनुभयो।

‘बुवालाई शुरुमा के रोग लागेको हो भन्ने नै थाहा भएन, बुटवलको लुम्बिनी सिटी हस्पिटलमा ल्यायौं, कुलराजले भन्नुभयो, ‘डाक्टरले ब्रेनमा ट्यूमर भएको छ भनेर भर्ना गर्न भन्नुभयो र एक हप्ता बुवालाई त्यहीँ राख्यौं, पछि अप्रेसन गरिसकेपछि यहाँ सकिन्न, तुरुन्तै काठमाडौं बाँसबारीस्थित न्यूरो अपस्तालमा लिनुस् भनेपछि अप्रेसन गरेको भोलिपल्ट यहाँ ल्याएका हौं।’ 

काठमाडौं न्यूरो हस्पिटलमा ल्याएको पनि ३८ दिन भइसकेको भन्दै कुलराजले उपचार खर्च थेग्नै गाह्रो भएकाले सहयोगका लागि हात फैलाउनुपरेको दुखेसो गर्नुभयो । ‘यहाँ (न्यूरो हस्पिटल) मा आएपछि कहिले वार्डमा र कहिले आइसियूमा राख्नुभएको छ, निको हुन्छ भन्नुभएको छ । तर बुवाको हालत झन खराब भइरहेको जस्तो लाग्छ’, कुलराजले भन्नुभयो, ‘पैसा जति सबै सकियो । १०÷१५ हजारभन्दा कम खर्च भएको दिनै छैन, कत्ति हो कति महंगो। अब हात फैलाउँदै हिड्नुको विकल्प छैन।’

शुरुमा होसमै रहेका केशुराम दोस्रो पटक अप्रेसन गरेपछि होसमा नभएको छोरा कुलराजको भनाई छ ।

घरको आर्थिक अवस्था निकै कमजोर रहेको र अहिलेसम्मको उपचार गर्दा भएको सम्पत्ति सकिइसकेको उहाँको भनाइ छ। ‘छरछिमेक, इष्टमित्रबाट पनि सहयोग, ऋण, जे–जे हुन्छ हुने जति गरिसकेको भन्दै उहाँले आफूहरु निकै समस्या परेकाले मिडियामार्फत् सहयोगका लागि अपील गर्नुपर्ने अवस्थामा पुगिसकेको बताउनुभयो।

ब्रेनट्यूमरपीडित केशुराम घर्तीमगरलाई सहयोग गर्न चाहनुहुने महानुभावहरुले उहाँका छोरा कुलराज घर्तीमगर र आफन्त धनराज रोकाको एनआइसी एसिया बैंक गल्फुटार शाखामा रहेको संयुक्त खाता नम्बर 0645750783899001 मा रकम जम्मा गर्न सक्नुहुनेछ वा पीडितका छोरा कुलराज घर्तीमगरको मोबाइल नम्बर 9848379542 मा सम्पर्क पनि गर्न सक्नुहुनेछ।


प्रतिक्रिया दिनुहोस्