काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले सबैभन्दा पहिले जनतामा जाने बताउनु भएको छ । donlineसँग कुरा गर्दै महराले भन्नुभयो, ‘म पहिला जनतामा जान्छु । जनताले माया गरेसम्म संसद त जाँदै गरौंला । पहिला दाङतिर झर्छु । जनता सबैभन्दा ठूलो हो मेरा लागि ।’
‘हेरौं, सकेसम्म त पहिले दाङ नै जाने सोचमा छु’, अब संसद जाने त होला नि भन्ने प्रश्नमा महराले भन्नुभयो, ‘जेलमा रहँदा पनि दाङले निकै माया गर्यो । रोल्पाले निकै माया गर्यो । देश÷विदेशमा रहनु भएका शुभचिन्तक साथीहरू कतिपयले भेटेर, कतिपयले फोन र सामाजिक सञ्जालमार्फत सम्झिनुभएको छ । माया गर्नुभएको छ ।’
पूर्वसभामुख महराले भन्नुभयो, ‘कसले के के गरे ? त्यतातिर नजाऔं । जनताको कुरा गरौं न । जनताको माया नै सबभन्दा ठूलो कुरा हो ।’ उहाँले अगाडि थप्नुभयो, ‘जनताले माया गरेसम्म कहिले भित्र कहिले बाहिर । के फरक पर्छ र ?’
जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख महरालाई सफाई दिएलगत्तै डिल्लीबजार कारागार लगिएको थियो । त्यहाँ आवश्यक प्रक्रिया पूरा गरेपछि उहाँलाई रिहा गरिएको थियो । कारागारभित्र र कारागारबाहिर ठूलो संख्यामा उपस्थित आफ्ना शुभेच्छुक, समर्थक र नेता कार्यकर्ताहरुको नाराबाजीकै बीचबाट निस्किएर पूर्वसभामुख महरा डेरातर्फ लाग्नुभएको थियो ।
डेरामा पुगेपछि राति करीव १० बजेसम्म भेट्न आउने र बधाई दिने नेता, कार्यकर्ता, कर्मचारी, शुभेच्छुकहरुको भीड लागेको थियो । आज बिहानैदेखि बेलुकीसम्म भेटेर बधाई दिनेहरुको घुइँचो लागेको थियो । बधाई दिनेहरुले लगाइदिएका माला र खादाको थुप्रो नै लागेको देख्न सकिन्थ्यो ।
पूर्वसभामुख महराले बधाई र हौसला दिन पुगेका शुभेच्छुकहरुसँग भन्नुभयो, ‘यहाँ काठमाडौंमा हुनुभएका तपाईंहरु यहाँसम्म आउनु भयो । यो मेरा लागि खुशीको कुरा हो । मेरो आम जनता र मतदाताहरु त जिल्लामै हुनुहुन्छ । उहाँहरु यहाँ आउन सम्भव छैन । उहाँहरुलाई भेट्न म स्वयं उहाँहरुकै घरदैलोमा जान्छु ।’