चीनमा कोरोना भाइरसको संक्रमण घट्दै : जापानमा बढ्दै

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  २ : २८


काठमाडौँ । चीनमा तिब्र रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्ला केही दिनदेखि घट्न थालेको छ।  

चीनमा सोमबार मात्रै ९८ जनाको ज्यान गएको छ। यसमध्ये हुबेई प्रान्तका मात्रै ९३ जना रहेको छन्। यसअघि आइतबार १०० जना र शनिबार १४२ जनाको ज्यान गएको थियो। केही दिनअघि एकै दिन २ सय जनाको ज्यान लिएको कोरोना भाइरसको संक्रमणमा विस्तारै कमी आउँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

हालसम्म चीनमा कोरोना भाइरसको संक्रमणबाट १८ सय ६८ जनाको ज्यान गएको छ। सोमबार मात्रै १ हजार ८ सय ८६ जना नयाँ सङ्क्रमित थपिएका छन्। यो सँगै हालसम्म चीनमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ७४ हजार ४ सय ३६ पुगेको छ।

चीन बाहिर कोरोना भाइरसबाट मंगलबार बिहानसम्म जापानमा २, हङ्कङ्मा १, फ्रान्समा १ र फिलिपिन्समा १ जनाले ज्यान गुमाएका छन्।

हालसम्म २५ देशमा फैलिएको कोरोना भाइरसबाट एक हजार एक सय बढी मानिसहरु संक्रमित भएका छन्। चीन बाहिर सबैभन्दा बढी जापानमा कोरोनाको संक्रमण फैलिएको छ।

सोमबार मात्रै जापानमा एक सय बढी संक्रमित फेला परेका छन्। मंगलबार बिहानसम्म जापानमा ५ सय १६ जना कोरोना संक्रमित फेला परेका छन्।


प्रतिक्रिया दिनुहोस्