भारत । कश्मीर विवादबारे बोल्ने बेलायती सांसदलाई भारतीय अधिकारीले भिजा अनुमति दिएका छैनन्।
कश्मीर क्षेत्रबारे संसदहरुको समूहको नेतृत्व गर्दैआएकी बेलायती सांसद डेबी अब्राहम्सलाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमै रोकेको भारतीय सञ्चारमाध्यले जनाएका छन्।
बेलायतको लेबर पार्टीको तर्फकी सांसद डेबी भारतमा आफ्नो परिवारलाई भेट्ने योजनामा थिइन्। डेबी यही सोमबार दुबईबाट नयाँदिल्ली आइपुगेकी थिइन्। विमानस्थलमा अधिकारीले उनको ‘डकुमेन्ट’ हेरेपछि टाउको हल्लाउँदै उनलाई भारतमा बस्न नदिएका हुन्।
अब्राहम्सले विज्ञप्ति निकाल्दै यसबारे जानकारी गराएकी छन्। विमानस्थलमै अधिकारीले उनलाई भिजा अस्वीकृत भएको जानकारी गराउँदै डेस्क छाडेको बताइन्।
अब्राहम्सले ट्वीटरमा लेखेकी छन्, ‘प्रष्ट कुरा के भने, मेरा भारतीय आफन्त छन् । जोसँग मैले भेट्ने कुरा थियो। र भारतीय कर्मचारीले मलाई साथ दिने थिए ।'
‘सबैका लागि न्याय र मानवअधिकारका लागि नै म राजनीतिमा प्रवेश गरेकी हुँ । म आफ्नै सरकार र अन्यसँग यी मुद्दालाई लिएर निरन्तर चुनौती दिनेछु,’ उनले लेखेकी छन् ।
भारतको विदेश मन्त्रालयका प्रवक्ताले भने यसबारे केही प्रतिक्रिया दिएका छैनन् । बेलायती सांसद डेबी भारत प्रशासित कश्मीरको पक्षमा बोल्दैआएकी छन् । साथै भारत सरकारले संविधानबाट धारा ३७० हटाएकोमा आलोचना गर्दैआएकी थिइन्' ।