काठमाडौं । पूर्व सभामुख कृष्ण बहादुर महराले सोमबार सफाइ पाउनु भएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो।
बलात्कार प्रयासको आरोप लागेपछि महराले गत असोज १४ गते सभामुख पदबाट राजिनामा दिनुभएको थियो।
जिल्ला अदालत काठमाडौंले यो फैसलामा महरालाई सफाइ दिनुका मुख्य दुई कारण औंल्याएको छ।
पीडित भनिएकी महिलाले महरा आफ्नो कोठामा नआएको बयान दिएको र महराले पनि महिलाको कोठामा गएको कुरा अस्वीकार गरेकाले महरालाई दोषी करार गर्नुपर्ने आधार नदेखिएको फैसलामा उल्लेख छ ।
यस्तै पीडित भनिएकी महिलाको कोठामा भेटिएका रक्सीका बोतल लगायतका सामग्रीसँग महराको फिंगरप्रिन्ट परीक्षणबाट तुलनात्मक रुपमा नमिलेको फैसलामा उल्लेख छ।
सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि असोज १२ गते साँझ बलात्कार प्रयास गरेको आरोप लागेको थियो। असोज १३ गते उक्त घटना सार्वजनिक भएको थियो। प्रहरीले महरालाई असोज १९ गते पक्राउ गरेको थियो ।