चितवन । चितवनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीबीच कुटाकुट भएको छ।
चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर जनयुद्ध दिवसका सन्दर्भमा पूर्व एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र पूर्व एमाओवादीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी बीच कुटाकुट भएको हो।
अखिल क्रान्तिकारीका विद्यार्थीको आक्रमणबाट सोमबार अनेरास्ववियुका केन्द्रीय सदस्य देव पाठकर जिल्ला नेता सचित सुवेदी घाइते भएका छन्। यो विवाद गत फागुन २ गतेदेखि सुरु भएको थियो।
गत फागुन २ गते पूर्व माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीको आक्रमणबाट पूर्व एमाले निकट अनेरास्ववियुका विद्यार्थी सागर काफ्ले, विक्रम केसी, आशिष कार्की, केशवराज काफ्ले लगायत घाइते भएका थिए । त्यही दिन साँझ अनेरास्ववियुका विद्यार्थीको आक्रमणबाट अनेरास्ववियु क्रान्तिकारीका विश्वास अम्गाई, अनिश शाक्य र दिनेश पौडेल घाइते भए।
रामपुरमा विद्यार्थीहरुबीच पटक पटक विवादभएपछि होस्टलमा समेत बस्न सक्ने वातावरण नरहेको अन्य विद्यार्थीको गुनासो छ।
अनेरास्ववियु केन्द्रमा एकता भए पनि कृषि तथा वन विज्ञान विश्वविद्यालयमा भने एकता अझै भइसकेको छैन। नेकपाको जिल्ला नेतृत्वले विवाद मिलाउने प्रयास गरे पनि सहमती हुन नसक्दा घटनाले उग्ररुप लिन थालेको हो।