खाद्य तथा तरकारीको मूल्यवृद्धि ४८ प्रतिशनसम्म

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १ : ५०


काठमाडौँ । खाद्य वस्तु तथा तरकारीको बजार मूल्य ४८ प्रतिशतसम्म बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ। 

गत वर्षको पुससम्म ८.३१ प्रतिशत घटेको तरकारीको मूल्यवृद्धि दर चालु आर्थिक वर्षको ६ महिनामा भने ४८.२४ प्रतिशतसम्म बढेको हो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहमा रहेका अन्य वस्तुको मूल्य पनि बढेको छ।

प्रतिवेदनअनुसार गत पुसमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, मसला, दाल, गेडागुडी र फलफूलको मूल्यवृद्धि उच्च थियो। मसलाको मूल्यवृद्धि दर १५.०६ प्रतिशत बढेको छ।

अघिल्लो वर्षको पुससम्म यस्तो मूल्यवृद्धि २.६६ प्रतिशत मात्र थियो। दलहन र रक्सीजन्य पेय पदार्थको मूल्यवृद्धि दर १०/१० प्रतिशत बढेको छ। गत वर्षको पुसमा दलहन वस्तुको मूल्यवृद्धि दर ६.०४ प्रतिशत घटेको थियो भने र रक्सीजन्य पेयमा करिब १२ प्रतिशत बढेको थियो। यस वर्ष समग्र मूल्यवृद्धि दर ६.८२ प्रतिशत पुगेको छ । गत वर्ष यस्तो वृद्धिदर ४.५८ प्रतिशत थियो ।

भारतमा खाद्य वस्तुको मूल्य उच्च भएकाले नेपालमा पनि त्यसको असर परेको राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताउनुभयो। खडेरीका कारण पछिल्ला महिनामा भारतमा तरकारीको मूल्य अकासिएको छ। ‘नेपालको मूल्यवृद्धि आयातित हो,’ भट्टले भन्नुभयो, ‘यस्तो मूल्यवृद्धि नियन्त्रणका लागि आन्तरिक उत्पादन बढाउनुपर्छ ।’ आजको कान्तिपुर दैनिकले खबर छापेको छ।


प्रतिक्रिया दिनुहोस्