फेसबुकका मालिक मार्क जुकरबर्गले अनलाइनमा हानिकारक सामग्री नियन्त्रण गर्न थप नियमनको आह्वान गरेका छन्। फेसबुकजस्तो कम्पनीले कस्ता सामग्रीलाई वैधानिक वाक् स्वतन्त्रता मान्ने भन्ने बारे निर्क्योल गर्न नसक्ने उनले बताए।
चीनको उदाहरण दिँदै जकरबर्गले धेरै कडा नियन्त्रण गरेमा त्यसले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन सक्ने चेतावनी पनि दिए। जर्मनीको म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा बोल्दै उनले उक्त टिप्पणी गरेका हुन्।
दबाबमा छ फेसबुक
गलत सूचनाको प्रवाह रोक्न फेसबुकजस्ता विशाल सामाजिक सञ्जाल कम्पनीमाथि दबाब बढिरहेको छ। खासगरि फेसबुकलाई राजनीतिक विज्ञापनसम्बन्धी उसको नीतिलाई लिएर चर्को आलोचना गरिएका छन्।
सन् २०१८ मा फेसबुकले अमेरिकामा राजनीतिक विज्ञापनसम्बन्धी नयाँ नीति जारी गर्यो र त्यसको एक वर्षपछि उसले संसारभरि लागु हुने गरि त्यस्ता नीति जारी गर्यो। ती नीतिबमोजिम त्यस्ता विज्ञापन प्रसार गर्न कसले पैसा तिर्यो भन्ने पनि खुलाउनुपर्छ अनि त्यो जानकारी सार्वजनिक रूपमा खोजी गर्न सकिने गरि सात वर्षसम्म राख्नुपर्छ।
तर यो साता फेसबुकले त्यस्तो डेटाबेसमा सामाजिक सञ्जालका चर्चित व्यक्तिहरूले राख्ने प्रायोजित राजनीतिक पोस्ट नराख्ने बतायो। साथै कम्पनीको वाक् स्वतन्त्रताको नीतिबमोजिम राजनीतिज्ञहरूले राख्ने गरेका हरेक पोस्टका वास्तविकता सधैँ परीक्षण गरिएका हुँदैनन्।
के भने जुकरबर्गले?
म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै उनले नियमनको वकालत गरे। "निजी कम्पनीहरूले थप प्रजातान्त्रिक प्रक्रिया बेगर धेरै निर्णय गरुन् भन्ने हामी चाहँदैनौँ," उनले भने। जुकरबर्गले सरकारहरूलाई सामाजिक सञ्जालका निम्ति नयाँ नियमन प्रणाली ल्याउन आह्वान गरे। त्यो टेलिकम तथा सञ्चार कम्पनीहरूका लागि विद्यमान नियमकै मिश्रण हुनुपर्ने उनको सुझाव थियो।
"त्यस्ता नियमका अभावमा हामी आफ्नो तवरबाट सकेसम्म उत्तम प्रयास गरिरहनेछौँ," उनले भने। जुकरबर्गले संयोजित रूपमा रुसजस्ता राज्यकै तहबाट गरिने अनलाइन 'सूचना अभियान' को विकासक्रम बुझ्न फेसबुकलाई निकै समय लागेको स्वीकार गरे। साथै, आइपी ठेगाना लुकाउन कतिपय खराब प्रयोगकर्ता झन् झन् सक्षम हुँदै गइरहेको पनि उनले बताए।
सामग्री समीक्षा गर्न विशाल बजेट
यो समस्यासँग जुझ्न फेसबुकसँग अनलाइन सामग्री समीक्षा गर्न र सुरक्षा हेर्न ३५ हजार कर्मचारी रहेको जुकरबर्गले बताए। आर्टिफिसियल इन्टेलिजेन्स एआइ समेतको सहयोगबाट हरेक दिन दश लाख फर्जी खाता बन्द गर्ने गरिएको उनले बताए।
"सन् २०१२ मा फेसबुकको एक अर्ब प्रयोगकर्ता हुँदाखेरिको कुल आम्दानीभन्दा अहिले सामग्री समीक्षाका लागि हाम्रो बजेट धेरै छ," उनले भने। राजनीतिक विज्ञापन जस्ता विषयमा आलोचित भएपनि फेसबुकले उसका सामाजिक सञ्जालहरू अझै विस्तार भइरहेको बताएको छ। यसै महिनाको सुरुमा फेसबुक कम्पनीकै ह्वाट्सएपले उसका प्रयोगकर्ता २ अर्ब पुगेको जनायो – जुन विश्वको कुल जनसङ्ख्याको एक चौथाइ भन्दा पनि धेरै हो।