खरिपाटीले भुलायो वुहानको पीडा, नयाँ जीवन पाएको महशुस

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १ : ११


काठमाडौँ । चीनको हुवेइ प्रान्तबाट १ सय ७५ नेपाली आइतबार बिहान झिसमिसेममा काठमाडौँ ओर्लिए। उनीहरू राष्ट्रिय ध्वजावाहक विमानबाट स्वदेशमा पाइला टेकेभन्दा क्वारेन्टाइन स्थल पुग्दा बढी खुसी देखिन्थे।

विमानस्थलमा ओर्लेपछि स्वास्थ्य जाँच गरी प्रहरी स्कर्टिङमा उनीहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र (क्वारेन्टाइन)मा लगिएको हो।

चीनको सुन्दर प्रान्त एकाएक कोरोना भाइरस संक्रमणको केन्द्र बनेपछि त्यहाँबाट फर्किंदा ‘कालको मुखबाट फिर्ता आएझैं’ महसुस भएको केहीले बताएका छन्। बसबाट लामो यात्रा, त्यसपछि हवाई उडानले थकित उनीहरू क्वारेन्टाइन क्षेत्रमा पुग्दा सरकारको तयारीले दंग परे। उनीहरूले नयाँ जीवन पाएको महसुस गरेका छन्।

अस्पतालमा छटपटिइरहँदा घर जान मन लाग्नु र घर पुग्दा हुने खुसीकै क्षण भएको उनीहरूको भनाइ छ। तीन सातादेखि लगातार उद्धार गर्न आग्रह गरिरहेकामा अन्ततः सरकारले सुनेको भन्दै उनीहरूले खुसी व्यक्त गरेका छन्।

उनीहरूलाई स्वदेश फर्काउन बेइजिङस्थित नेपाली दूतावासले त्यहाँको र यहाँको व्यवस्थापन नेपाली सेनाले गरेको थियो। उद्धार व्यवस्थापनको जिम्मा लिएको दूतावासले हुपैबाट नेपालीलाई केही कडा नियमसहितको मञ्जुरीनामा लिएको थियो। सरकारले तोकेको समयावधिभर क्वारेन्टाइनमा बस्ने, आफन्त नभेट्ने, बाहिर निस्किन नखोज्नेजस्ता विषयमा मञ्जुर गराएर हुपैका ६ सहरबाट उनीहरूको उद्धार गरेको हो।

उनीहरूले सरकारी व्यवस्थापनको प्रशंसा गरेका छन्। ‘अलिकति ढिलो भयो भन्ने मात्र हो तर यहाँको तयारी राम्रो रहेछ’, डा गौरव पोखरेलले भने, ‘हामी खुला स्थानमा आइपुगेझैं भएका छौं। खुला हावा लिन पाएका छौं। मानसिक तनाव कम भएको मात्र होइन, पूर्णतः सुरक्षित रहेको महसुस गरेका छौं।’ सरकारले तयार गरिदिएको बस्ने स्थान र खानाले आफू घरमै बसेको महसुस गर्न पाएको उनले बताए।

वुहानबाट अबेर राति उडेका उनीहरू बिहान खरिपाटी पुगेपछि आआफ्नो बेडमा गएर पल्टिएका थिए। अधिकांश मस्त निद्रामा रहेको एक विद्यार्थीले बताइन्। ‘सरकारले ढिलै भए पनि कालको मुखबाट फर्काएको छ। यस्तै बेला सरकार चाहिने हो’, उनले टेलिफोनमा भनिन्, ‘आगामी दिनमा अन्य नेपालीलाई पर्दा यत्तिको ढिलाइ नहोस्।’

उनीहरूले यहाँको व्यवस्थापन राम्रो रहेको तर ढिलाइ सम्झिँदा यो पनि बिर्सिनपर्ने नै रहेको बताए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । 


प्रतिक्रिया दिनुहोस्