पत्रकारलाई पेन्सनको व्यवस्था गर्न मिडिया नेपालको माग

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ४ : १३


पोखरा । निरन्तर २५ बर्ष पत्रकारिता क्षेत्रमा खटिरहेका श्रमजीवी पत्रकारहरुलाई पेन्सनको व्यवस्था गर्न मिडिया नेपालले माग गरेको छ । मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालको अध्यक्षतामा पोखरामा सम्पन्न केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले श्रमजीवी पत्रकारहरुको लगनशीलतालाई कदर गर्दै पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।
 
महङ्गी आकाशिएको वर्तमान अवस्थामा श्रमजीवी पत्रकारहरुको लागि सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिकलाई व्यवहारमा तत्काल लागु गरी समयमा उपलब्ध गराउन सो बैठकले सञ्चारगृहहरुलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । 

बैठकले प्रदेश नं ५ को तर्फबाट उपाध्यक्षमा श्रीधर सुवेदी, कर्णाली प्रदेशको तर्फबाट उपाध्यक्षमा अंगत देवकोटा, सचिवमा कृष्ण खनाल, कोषाध्यक्षमा राधिका जोशी, काठमाडौं उपत्यका संयोजकमा दीपेश राजथारु तथा केन्द्रीय सदस्यहरुमा रञ्जीत प्रसाई (झापा), विजय राउत (सुनसरी), सविता पोखरेल (गोरखा)लाई मनोनयन गरेको छ । 

बैठकले मिडिया नेपालको स्थापना दिवस आगामी चैत महिनामा प्रदेश नं ५ को नेपालगञ्जमा मनाउने र उक्त अवसरमा ५ नं प्रदेश समिति गठन एवं घोषणा सभा गर्ने निर्णय पनि गरिएको छ । त्यसका लागि आवश्यक तयारी गर्न उपाध्यक्ष श्रीधर सुवेदीलाई, कर्णाली प्रदेश समिति गठन तथा घोषणा सभाको तयारी गर्न उपाध्यक्ष अंगत देवकोटालाई जिम्मेवारी दिने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ । 

गण्डकी प्रदेशको प्रदेश कार्यसमिति २०७६ फागुन ५ गते गठन गर्ने र गठन हुन बाँकी रहेका प्रदेशमा यथाशक्य चाँडो प्रदेश कार्यसमिति गठन गर्ने निर्णय केन्द्रीय कार्यसमितिको बैठकले गरेको छ । 


प्रतिक्रिया दिनुहोस्