विवाह मण्डपमा बेहुलाकाे सर्ट र पाइन्ट च्यातियाे, त्यसपछि लखेटियाे

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ८ : ०८


काठमाडाैं ।  बेहुलाकी जेठी श्रीमतीले नयाँ बेहुलीलाई उनका बेहुलाको पहिले नै दुईजनासँग विवाह भइसकेको जानकारी दिन विवाह स्थल आएपछि एक बेहुला विवाह मण्डपबाट लखेटिएका छन् । करिब ३३–३४ वर्षका आसिफ राफिक सिद्दीकीलाई बेहुलीको परिवारले लछारपछार गर्दै कुटपिटसमेत गरेका छन् ।

उनीबारे यस्तो जानकारी सार्वजनिक भएपछि रिसाएका भीडले उनले लगाएको सर्ट र पाइन्ट दुबै च्यातिदिएका छन् । भीडबाट बच्नका लागि बस मुनी लुकेका बेहुलालाई पछि अपरिचित व्यक्तिले बचाएका छन् ।

पाकिस्तानमा बहुविवाह वैध छ । एक व्यक्तिले चारजना श्रीमती राख्न पाउँछन् तर यसका लागि उनले श्रीमतीहरुको अनुमती लिनुपर्छ । घटनाको भिडियो पनि सोसल मिडियामा सार्वजनिक भएको छ । भिडियोमा देखिए अनुसार विवाह स्थलमा एकाएक एक रिसाएकी महिला प्रवेश भएपछि एक व्यक्तिले प्रश्न गर्छन्, ‘बहिनी के भयो ?’ मदिहा सिद्दीकी नामकी ती महिलाले कुराको चुरो समात्न बेर लगाइनन् ।

‘उनी मेरा श्रीमान् हुन्, र उनी यो बच्चाको बुवा पनि हुन् । उनले मलाई आफू तीन दिनका लागि हैदराबाद जान लागेको बताएका थिए,’ ती महिलाले आरोप लगाइन् । उनी एक बच्चासहित उपस्थित भएकी थिइन् जसलाई उनले आफ्नो छोरा बताएकी थिइन् । त्यसपछि उनलाई केही पर राखेर कुराकानी गरियो । त्यसपछि उनले नयाँ बेहुलीसँग पनि कुरा गरिन् । ‘तिमीलाई थाहा थिएन ? उनी मेरा श्रीमान् हुन् ? उनले यो अबोध बालकको पनि ख्याल गरेनन् ।’

मदिहाका अनुसार उनले आसिफसँग सन् २०१६ मा विवाह गरेकी थिइन् । कराँची फेडरल उर्दू युनिभर्सिटीमा भेट भएपछि उनीहरुबीच प्रेम बसेको र विवाह गरेको पनि उनले जानकारी दिइन् । त्यसपछि आसिफले सन् २०१८ मा जेहरा असरफसँग गोप्य रुपमा दोस्रो विवाह गरेको मदिहाले बताइन् ।

श्रीमानकी नयाँ श्रीमतीको मेसेज देखेपछि उनले दोस्रो विवाह गरेको थाहा पाएको मदिहाले बताइन् । सुरुमा आफूले दोस्रो विवाह गरेको अस्विकार गरेपनि पछि श्रीमानले उक्त कुरा स्विकार गरेको मदिहाले जानकारी दिइन् । जेहराले नै उनलाई श्रीमानले तेस्रो विवाह गर्न लागेको भन्ने जानकारी दिएको उनले बताइन् ।


प्रतिक्रिया दिनुहोस्