अमेरिकी दूतावास नजिकै फेरि रकेट आक्रमण

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ५ : ०३


काठमाडाैं । इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासलाई निसाना बनाउँदै फेरि रकेट आक्रमण भएको छ । अमेरिकी सम्पत्तिमाथि क्षति पुर्‍याउन यो आक्रमण गरिएकाे बताइएकाे छ । इराकको कट्टरपन्थी समूह हसद अल शाबीको इरानसमर्थित समूह हरकत अल–नुजाबाले अमेरिकी सैनिकलाई देश छाड्न चेतावनी दिएको भोलिपल्टै यो आक्रमण भएको हो। 

यद्यपि कति वटा रकेट प्रहार भएको थियो र के कति क्षति पुगेको छ भन्ने बारेमा स्पष्ट भइनसकेको समाचारहरूमा जनाइएकाे छ । आक्रमणका बेला ग्रीन जोननजिकै एउटा विमान घुमिरहेको प्रत्यक्षदर्शीले बताएका थिए ।

एएफपीका सम्वाददाताले ग्रीन जोन नजिक एअरक्राफ्ट सर्किलिंग नजिक कैयौँ विस्फोटको आवाज सुनेको बताएका छन्, जहाँ अमेरिकी मिसन रहेको छ । गएको महिना उत्तरी इराकमा भएको यस्तै आक्रमणमा अमेरिकी कन्ट्रयाक्टरको ज्यान गएको थियो ।

त्यसपछि अमेरिकाले गरेको कारबाहीमा २५ जना लडाकु मारिएका थिए । पछिल्लो समय अमेरिका–इरानबीच विवाद बढ्दै गएको छ । अमेरिकाले बगदादमा ड्रोन आक्रमणबाट इरानका प्रमुख कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि अमेरिका–इरान तनाव उत्कर्षमा छ ।

६२ वर्षीय सुलेमानी इरानका शीर्ष नेता आयातुल्लाह खामेनेयी पछिका इरानका सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्थे । इराकमा तैनाथ ५२०० अमेरिकी सैनिकलाई निशाना बनाइएको छ। इरानले पछिल्लो पटक यही दूतावसलाई निशाना बनाउँदा अमेरिकाले इरानी सैनिक कमाण्डरलाई मारेपछि इरान र अमेरिका युद्ध गर्ने अवस्थामा पुगेका थिए। अमेरिका सम्यमित रहँदै आएको छ भने इरानले आफ्ना सैनिक कमाण्डरको बदला लिएरै छाड्ने दाउमा छ। 

 


प्रतिक्रिया दिनुहोस्