कोरोना भाइरसको केन्द्रबाट आज स्वदेश फर्कदै नेपाली

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ११ : ०८


काठमाडौं । कोरोना भाइरसको 'इपिसेन्टर' रहेको चीनको हुबे प्रान्तबाट आज नेपालीहरुको उद्धार गरिदै छ।

नेपाली विद्यार्थी लिन नेपाल वायु सेवा निगमको विमान चीन तर्फ प्रस्थान गरेको छ। वुहानबाट विद्यार्थी ल्याउन १६ सदस्यीय टोलीसहित विमान चीन प्रस्थान गरेको हो । 

हुबेका ६ वटा विभिन्न सहरहरूमा रहेका नेपालीको बेइजिङस्थित नेपाली दूतावासको पहलमा उद्धार गरिन लागेको हो। 

चौतर्फी दबाबपछि सरकारले त्यहाँका नेपालीहरूको उद्धार गर्न लागेको हो।

चीनबाट ल्याइएका नेपालीहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा लगेर क्वारन्टीनमा राखिनेछ।

बेइजिङस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार कुनै असामान्य अवस्था नआएमा भोलि बिहान सबेरै उनीहरू नेपाल आइपुग्ने जनाएको छ।

सरकारले उद्धार गर्न विमान पठाएपछि विद्यार्थीहरु बस चढेर विमानस्थल पुगिसकेका छन्

नेपाल ल्याइन लागेका १ सय ८५ जना नागरिकमध्ये अधिकांश विश्वविद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरू रहेका छन्।

उद्धार गरिन लागेका नेपालीहरुले आफूहरू 'रोमाञ्चित र बेचैन' भएको प्रतिक्रिया दिएका छन्।

नेपाल फर्कनका लागि विमानस्थल जाने बसमा यात्रा गर्दै गर्दा वीच्याटमार्फत् कुराकानी गर्दै एकजना विद्यार्थी सलिमा कक्षपतीले भनिन्, 'नेपाल सरकारले पहिलो पटक यसरी विशेष विमान नै पठाएर उद्धार गर्दैछ। त्यसको हिस्सा बन्न पाउँदा अलि अनौठो पनि लागिरहेको छ। हामीलाई खुसी र नेपालप्रति गर्व पनि लागिरहेको छ।'

उनीसँगै नेपाल फर्कन लागेकी अर्की विद्यार्थी श्रद्धा श्रेष्ठले चाहिँ केही बैचैनी पनि महसुस गरेको बताइन्।

उनले भनिन्, 'यहाँ अझै हाम्रो चेकजाँच हुनै बाँकी छ। केही भइहाल्ने पो हो कि भन्ने खालेको बेचैनी भइरहेको छ। नेपाल पुगेर पनि हामी क्वारन्टीनमा बस्नुपर्छ, परिवारसँग भेटघाट हुँदैन भनेर पनि कस्तो कस्तो लागिरहेको छ'

हुबेमै विद्यावारिधिरत डा. गौरव पोखरेललाई नेपाल फर्कन पाउँदा निकै खुसी लागेको छ।

उनले भने, 'अहिले यहाँ हिउँ परिरहेको छ। यस्तो मौसममा हामी कोरोनाभाइरस सङ्क्रमित क्षेत्रबाट आफ्नै देश फर्कन लागेका छौँ। त्यो भन्दा अर्को खुसी के नै हुन्छ र ? हामी निकै रोमाञ्चित छौँ।'

अर्का नेपाली विद्यार्थी एवम् चिकित्सक अमीत श्रीवास्तवले पनि नेपाल फर्कन पाउँदा निकै उत्साहित बनेको बताए।

-बीबीसी नेपाली


प्रतिक्रिया दिनुहोस्