काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीले उल्लासमय रूपमा २५ औँ जनयुद्ध दिवस मनाएको जनाएको छ।
२०५२ साल फागुन १ गते तत्कालिन माओवादीले युद्ध सुरुगरेको दिनको अवसरमा हरेक बर्ष जनयुद्ध दिवस मनाउने गरिन्छ।
तत्कालिन माओवादीहरुले खुल्ला कार्यक्रम गरि दिवस मनाउँदै गर्दा विप्लवले भने भूमिगत रुपमै यो दिवस मनाएका छन्।
प्रतिबन्धपछि सुरक्षाफौजको खोजी सुचीमा रहेका विप्लव अहिलेसम्म सार्वजनिक भएका छैनन्।
जनयुद्ध दिवशका अवसरमा विद्रोही नेकपाको मुखपत्रले विप्लवले पनि जनसमुदायका बीचमा जनमुक्ति सेनाको सलामी लिँदै र परेड अवलोकन गर्दै भव्यतापूर्वक जनयुद्ध दिवस मनाएको जनाएको छ।
जनयुद्ध दिवस मनाउँदै विप्लवले एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत जनयुद्धको अधुरो सपना पूरा गर्ने घोषणा गरेका थिए।
जनयुद्ध दिवस कार्यक्रमको अध्यक्षता पनि महासचिव विप्लवले गरेका थिए। कार्यक्रमको सञ्चालन भने नेकपाका केन्द्रीय सदस्य विजयले गरेका थिए।
कार्यक्रमको आरम्भमै जनमुक्ति सेनाको एक टुकडीले सहिदहरूप्रति सलामी अर्पण गरेको समाचारमा जनाइएको छ। त्यसपछि जनमुक्ति सेनाले परेड प्रदर्शन गरेको थियो ।
पटका पड्काएर कार्यक्रम आरम्भ गरिएको समाचारमा उल्लेख छ। कार्यक्रममा उल्लेख्य रूपमा जनताको सहभागिता रहेको पनि जनाइएको छ।
वर्तमान सत्ता विरुद्ध क्रान्तिको घोषणा गरेको विप्लव नेतृत्वको नेकपाले तत्कालिन माओवादीले झै आफ्नै सेना बनाएको जनाएको छ।
जनयुद्ध दिवसका अवसरमा अन्तर्वार्ता दिँदै विप्लवले आफुहरुको विजयलाई कसैले पनि रोक्न नसक्ने र अधुरो क्रान्ति पुरा गरेरै छाड्ने बाचा गरेका छन् ।