काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी खोल्ने, झण्डा बोक्ने र सडक–सदनमा प्रदर्शन गर्ने स्वतन्त्रता मात्रै लोकतन्त्र नभएको बताउनुभएको छ।
आफू नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै नागरिकलाई न्याय, अवसर, समानता र मर्यादा नै पूर्ण लोकतान्त्र भएको बताउनुभएको हो।
हेर्नुहोस् उहाँको भनाइ जस्ताको तस्तै
पार्टी खोल्ने, झण्डा बोक्ने र सडकरसदनमा प्रदर्शन गर्ने स्वतन्त्रतालाई मात्र म लोकतन्त्र ठान्दिनँ । म त्यस्तो लोकतन्त्रलाई मान्छु– जहाँ हरेक नागरिकको शिक्षा र स्वास्थ्यको सुनिश्चितता होस् । बालपनको संरक्षण, युवावस्थामा रोजगारी र बृद्धावस्थामा सुरक्षा भएको समाज–व्यवस्था होस् । म ठान्दछु, सबै नागरिकलाई न्याय, अवसर, समानता र मर्यादासहितको लोकतन्त्र मात्र ‘कम्प्रिहेन्सिभ’ अर्थात परिपूर्ण वा वास्तविक लोकतन्त्र हो ।