जन्मिएको ३० घण्टापछि नवजात शिशुमा कोरोनाभाइरसको सङ्क्रमण देखियो भन्ने समाचार फेब्रुअरी ५ तारिखमा आउने बित्तिकै त्यो खबर विश्वभरि फैलियो।
कोरोनाभाइरसका कारण अहिलेसम्म ११ सय भन्दा बढीको ज्यान गइसकेको छ भने ४० हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन्।
तीमध्ये सबैभन्दा कम उमेरमा सङ्क्रमित भएको पाइएको तिनै शिशुमा हो। अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमण तीसवटा भन्दा बढी देशमा देखा परिसकेको छ।
कोरोनाभाइरसको प्रकोपको पछिल्लो अध्ययन जर्नल अफ दि अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित भएको छ। उक्त अध्ययन प्रकोप सुरु भएको चीनको वुहानस्थित जिनयिनटान अस्पतालका बिरामीमा गरिएको हो।
उक्त अध्ययनले ४० देखि ५९ वर्ष उमेरका मानिसमा उक्त भाइरसको सङ्क्रमण आधाभन्दा बढी रहेको देखाएको छ।
३९ वर्षभन्दा कम उमेरका बिरामी जम्मा १० प्रतिशत रहेका छन्। "बालबालिकामा सङ्क्रमण दुर्लभ देखिएको छ," अनुसन्धानकर्ताले भनेका छन्।
तर यस्तो किन भयो?
बालबालिकामा थोरैमात्रै सङ्क्रमण
यसबारे थुप्रै खालका तर्कहरू गरिन्छ। तर बालबालिकामा सङ्क्रमण किन कम देखिएको छ भन्ने निश्चित जवाफ भने स्वास्थ्य विज्ञहरूसँग छैन।
"यसको कारणबारे उनीहरू पूर्ण रूपमा स्पष्ट छैनन्, बालबालिकाहरू या त सङ्क्रमण हुने परिस्थितिबाट टाढा रहन्छन् वा उनीहरूमा कडा सङ्क्रमण हुँदैन," युनिभर्सिटी अफ रेडिङका प्राध्यापक इयान जोन्सले बीबीसीलाई भने।
यसको अर्थ बालबालिकाहरूमा अहिले कम खतरा हुने खालको सङ्क्रमण हुने र त्यसको लक्षणहरू विकसित हुँदै जाने हुनसक्छ। त्यस्तो खालको अवस्थामा बालबालिकाहरूलाई अस्पतालमा उपचारका लागि राखिन्न र चिकित्सकलाई पनि देखाइँदैन। युनिभर्सिटी कलेज लन्डनकी लेक्चरर नथली म्याकडरमट यसमा सहमत छिन्।
"पाँच वर्षभन्दा कम उमेरका बालबालिका र किशोरकिशोरीहरूमा भाइरससँग लड्नसक्ने रोग प्रतिरोधात्मक क्षमता राम्रो हुन्छ," उनले भनिन्। "उनीहरू पनि सङ्क्रमित हुनसक्छन् तर एकदमै सामान्य खालको सङ्क्रमण हुन्छ वा सङ्क्रमणको लक्षण नै देखापर्दैन।" बालबालिकामा सङ्क्रमण कम हुने नजिर यसअघि सन् २००३ मा चीनमै देखापरेको सार्स प्रकोपका बेला नै बसेको थियो।
करिब ८ सय मानिसको ज्यान लिएको र ८ हजार व्यक्तिमा सङ्क्रमण भएको सार्स प्रकोपकै बेला पनि बालबालिकामा निकै कममात्रै सङ्क्रमण भएको थियो। सन् २००७ मा, अमेरिकी जनस्वास्थ्य निकाय सेन्टर फर डिजिज कन्ट्रोल सीडिसीका विज्ञहरूले सार्सको सङ्क्रमण भएका १ सय ३५ बालबालिकाको पहिचान गरेका थिए।
उनीहरूले "बालबालिका र किशोरकिशोरीमा मृत्युको एउटा पनि घटना नभएको" जनाएका थिए।
स्कूल बिदाले बालबालिकालाई सङ्क्रमणबाट जोगाएको हो?
म्याकडरमट पनि बालबालिकाहरू वयस्क जति भाइरस सङ्क्रमणको जोखिममा नपर्ने गरेको ठान्छिन्।
उक्त प्रकोप चिनियाँ नयाँ वर्षका बेला सुरु भएको थियो जतिबेला स्कुलहरू बन्द थिए। प्रकोपपछि झण्डै सबैजसो चिनियाँ प्रान्तहरूले स्कुल बन्द गर्ने निर्णय गरे। र, फेब्रुअरी महिनाको अन्त्यसम्म स्कुलहरू बन्द नै रहने छन्।
"वयस्कहरू धेरै ख्याल गर्छन् र यदि घरमा कसैलाई सङ्क्रमण भएको छ भने उनीहरू बालबालिकालाई जोगाउनका लागि अन्यत्रै पठाउँछन्।"
उक्त भाइरसबाट सङ्क्रमण फैलिरहेको र यसले समुदायमा धेरै फैलिने खतरा रहेकाले अहिलेको यो परिदृश्य परिवर्तन हुने उनी ठान्छिन्। यद्यपि अहिलेसम्म व्यापक रुपमा भाइरसको सङ्क्रमण फैलिएको भए पनि बालबालिकामा भने त्यो सङ्ख्यामा वृद्धि भएको छैन।
फेरि पनि सार्स प्रकोपको नजिर नै काम लाग्न सक्छ: सीडिसीका अनुसन्धानकर्ताहरूले १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई अस्पताल नै लैजानु पर्ने अवस्था कमै आइपरेको पाएका थिए।