काठमाडौँ । दुई वर्षमा नेपालले विश्वका १४ सुचकमा प्रगति हाँसिल गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको दुई वर्षमा नेपालले उक्त सूचकमा प्रगति हाँसिल गरेको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार suryaले दुई वर्षका उपलब्धि भन्दै विश्वका १४ सूचकमा नेपालको प्रगति स्थान बारे जानकारी दिनुभएको छ।
उहाँले दुई वर्षका उपलब्धिहरू बुझ्न आँखीझ्याल भन्दै विश्व बैंकको व्यवसायसम्बन्धी सूचाकाङ्कदेखि संयुक्त राष्ट्रसंघीय बाल कोषसम्मको प्रतिवेदनले देखाएको सूचकका बारेमा उल्लेख गर्नुभएको छ।
यस्तो छ विश्वका १४ सूचकमा नेपालको प्रगति स्थान
१. विश्व बैंकको व्यवसायसम्बन्धी सूचाकाङ्क (डुइङ विजनेश इन्डेक्स) ले नेपालको व्यवसायिक वातावरणमा उल्लेख्य सुधार भएको भन्ने देखाएको छ । गत वर्ष ११० औं स्थानमा रहेको नेपाल यस वर्ष ९४ औं स्थानमा उठेको छ । यो एक वर्षमा हामी विश्वस्तरमा नै १६ स्थान अगाडि बढेका छौं ।
२. मानव विकास सूचाकाङ्क, जो संयुक्त राष्ट्र संघीय मानव विकास प्रतिवेदनले सार्वजनिक गरेको छ, त्यसमा २ स्थान प्रगति गरि नेपाल १४९ औंबाट १४७ औं स्थानमा अगाडि बढेको छ ।
३. भोकमरी सूचकांकमा अहिले नेपालको स्थिति सुध्रिएको छ र यो ७३ औं स्थान (२०.८ प्राप्तांकसहित) मा रहेको छ । यसले पनि प्रगति र विकासको संकेत गरेको छ ।
४. शान्ति सुव्यवस्थाको स्थिति कस्तो छ त ? विश्व शान्ति सूचक (ग्लोबल पीस इन्डेक्स) मा नेपालले यस बर्ष १२ बिन्दुले सुधार गरेको देखिएको छ, अर्थात् नेपाल यसरी सुधारको स्थितिमा अगाडि बढेको छ । १६५ देशमध्ये नेपाल ७६ औं स्थानमा आइपुगेको छ । जबकि अरु देशहरूको स्थिति फरक छ । बंगलादेश १०१ औं स्थान, चीन ११० औं स्थान, भारत १४१ औं स्थान र पाकिस्तान १५३ औं स्थानमा रहेका छन् ।
५ .विधिको शासनको सूचकमा नेपाल २ स्थान माथि उठेको छ । गत वर्षभन्दा यस बर्ष क्रमशः यो माथि जाँदै छ । विश्वका १२६ देशहरूमध्ये नेपाल ५९ औं स्थानमा रहेको छ ।
६ .भ्रष्टाचार नियन्त्रण र पारदर्शितासम्बन्धी सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपाल ११औं स्थान माथि चढेको छ र १२४ औं स्थानबाट ११३ औं स्थानमा पुगेको छ ।
७ . विश्वव्यापी खुशी मापन सूचक (ह्याप्पीनेश इन्डेक्स) मा के छ त ? खुशी मापनमा पनि नेपाल अहिले ३ स्थान माथि उठ्न सकेको छ ।
८ .आर्थिक–सामाजिक कार्यसम्पादन र संस्थागत मूल्याङकनसम्बन्धी विश्व सूचक (कन्ट्री परफमेन्स एण्ड इन्सिच्यूशनल एसिसिमेन्ट–सीपीआइए) मा हाम्रो मुलुक १ तह (३.४ बाट ३.५) माथि उठेको छ ।
९. विश्व प्रतिस्पर्धासम्बन्धी सूचकमा पनि १ स्थान (१०९ औं बाट १०८ स्थान) माथि उठेको छ ।
१०. लैङ्गिक समानताको विश्व सूचकमा गत वर्षभन्दा १ स्थान माथि उठेको छ । गत वर्ष नै हामी अगाडि थियौं, त्यसमा पनि यस वर्ष अलिकति माथि उठेको अवस्था रहेको छ ।
११ . विश्व भ्रमण तथा पर्यटनसम्बन्धी सूचक यसमा टुरिजम कम्पिटेटिभ इन्डेक्समा नेपाल फेरि १ स्थान माथि उठेको छ । यसरी विश्व सूचकहरूमा नेपाल अनेक कोणबाट अगाडि बढेको स्पष्ट छ । नेगेटिभ सूचकहरू छैनन् ।
१२.जर्मनीकाे प्रसिद्ध Wander Hust Magazine ले विश्वमा भ्रमण गर्नैपर्ने १५ मुलुकमा नेपाललाई समावेश गरेकाे छ । यसबाट पर्यटकीय विश्व बजारमा नेपाल विशेष र उल्लेखनीय गन्तव्यका रूपमा विख्यात भएकाे छ । नेपाल भ्रमण बर्ष २०२० अभियानकाे सफलताका लागि याे महत्त्वपूर्ण आधार हाे ।
१३. विश्व बैकले हालै सार्वजनिक गरेकाे "वुमेन, बिजनेस एण्ड द ल – २०२०" रिपाेर्टका महिला, व्यवसाय र कानूनका क्षेत्रमा सुधार गर्ने प्रमुख १० देशकाे सूचिमा नेपाल परेकाे छ, त्याे पनि उत्कृष्ट तीनमा । यसले महिला सशक्तिकरणकाे क्षेत्रमा नेपाल विश्वमै अग्रणी स्थानमा देखाएकाे छ ।
१४. संयुक्त राष्ट्रसंघीय बाल काेष (युनिसेफ)काे विश्व प्रतिवेदन – " अ वल्ड रेडी टु लर्न" मा सन् २००० पछिका १७ बर्षहरूमा नेपालकाे विद्यालय भर्ना दर १२ प्रतिशतबाट ८६ प्रतिशत पुगेकाे भनी प्रशंसा गरिएकाे छ ।