काठमाडौँ । कोरोना भाइरसबाट संकटमा फसेको चीनको वुहानमा रहेका नेपाली विद्यार्थीको उद्धार गर्न नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को विमान आज (शनिबार) त्यसतर्फ जाँदैछ। स्वदेश फर्किन चाहने नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाज आज अपरान्ह चीन पठाइन लागिएको हो।
स्वदेश फर्कन चाहने नेपालीलाई निगमको जहाजमार्फत ल्याउने व्यवस्था मिलाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिनुभयो।आज दिउँसो ३ बजे नेपाल एयरलाइन्सको वाइडबडी जहाज नेपाली लिन चीनतर्फ जानेछ भने उक्त जहाज आइतबार राति नेपालमा अवतरण हुनेछ।
उद्धार गरिएका विद्यार्थीलाईविमानस्थलमा ज्वरो आएको पाइएमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिने भएको छ भने सरकारले कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि सरकारी र निजी अस्पतालमा गरी १४७ वटा ‘आइसोलेशन वार्ड’ तयार पारेको छ।
पूर्व अभ्यास
सरकारले कोरोना भाइरसबाट प्रभावित चीनको वुहानबाट ल्याइने नेपालीलाई त्रिभुवन विमानस्थलदेखि खरिपाटीसम्म सुरक्षित रुपमा कसरी पु¥याउने भन्ने बारेमा शुक्रबार पूर्वाभ्यास समेत गरेको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नाराणप्रसाद विडारीलगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, एम्बुलेन्स, प्राविधिक टोलीसहित टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि भक्तपुरको खरिपाटीसम्म लैजाने ‘रिहर्सल’ गरिएको हो।
चीनबाट ल्याउने नेपालीलाई राख्ने क्वारेन्टाइन निर्माणको सम्पूर्ण तयारी पूरा भएको सचिव विडारीले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “शुक्रबार बेलुकी क्वारेनटाइन निर्माण सम्पन्न भयो, चीनबाट खरिपाटीमा ल्याउने १८५ विद्यार्थीमध्ये ४४ महिलालाई एउटा ब्लकमा तथा पुरुषलाई दुईवटा भवनको ब्लकमा र श्रीमान्, श्रीमती भएकालाई छुट्टै राखिने गरी व्यवस्थापन गरिएको छ, चिकित्सकको टोली अर्को ब्लकमा राखिने छ, विमान चालक, सहचालक र परिचारिकालाई चाँगुनारायण नगरपालिका–६ नगरकोटको खानेपानी तालीम केन्द्रको भवनमा बनाइएको ब्लकमा राख्ने व्यवस्था गरेका छौँ।”
सचिव विडारीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै क्वारेन्टाइन बनाइएको बताउँदै एउटा कोठामा एक मिटरको दूरीमा रहने गरी तीनवटा श्यया राखिएको, कूल चारवटा ब्लकमा १९९ वटा श्यया तयार पारेको, एक व्यक्तिका लागि दैनिक जीवनमा चाहिने सम्पूर्ण सामग्रीको व्यवस्था गरिएको बताउनुभयो।
क्वारेन्टाइनमा १५ दिनसम्म राखिने र त्यस क्रममा रुघा, ज्वरो आएमा त्यहाँ राखिएको एम्बुलेन्समा राखेर बिरामीलाई टेकु अस्पतालको ‘आइसोलेशन वार्ड’मा राखेर उपचार गरिने व्यवस्था गरिएको छ। कोरोना भाइरसको परीक्षण गर्ने एकमात्र मेशिन टेकु अस्पतालसँग मात्र भएको र अन्तिम परीक्षणका लागि हङ्कङमै पठाएर हो वा होइन भन्ने प्रतिवेदन आउनेछ।