नागढुङ्गा–कलङ्की सडकमा सिसिटिभी जडान गरिने

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  १ : ०५


उपत्यका भित्रिने प्रमुख नाका नागढुङ्गा–कलङ्की सडकमा सिसिटिभी जडान गरिने भएको छ। 

समुदाय–प्रहरी पालिका समितिले शुक्रबार यहाँ आयोजना गरेको  ‘ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम’मा उक्त कुरा बताइएको हो। 
    
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नागढुङ्गा– कलङ्की सडकखण्डमा चाँडो सिसिटिभी र सडकबत्ती जडान गरिने बताउनुभयो। 

“चन्द्रागिरिमा हुने अपराध नियन्त्रणका लागि सिसिटिभी र सडक बत्ती जडान गर्न लागेका हौँ”, उहाँले भन्नुभयो। नगरपालिकाले सिसिटिभी र सडक बत्ती जडानका लागि रु एक करोड रकम विनियोजन गरेको उहाँको भनाइ थियो। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक नियम पालना गरे सडक दुर्घटनामा कमी आउने बताउनुभयो। राजधानी भित्रिने प्रमुख नाकामा सडक दुर्घटना न्यूनीकरण गरे राजधानीमा आफैँ दुर्घटना न्यूनीकरण हुने उहाँको भनाइ थियो। 

नेपाल ट्रक तथा टिप्पर व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सरकारले मालवाहक सवारीसाधन पार्किङका लागि आवश्यक स्थान उपलब्ध गराउन नसकेको गुनासो गर्नुभयो। कार्यक्रममा ट्राफिक दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक श्रव्यदृश्य सामग्रीको प्रदर्शन गरिनाका साथै सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तक्र्रिया गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस्