काठमाडौं । घरमै हत्या गरिएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको निधन घाँटीमा कस्सिएको डोरीका कारण भएको पत्ता लागेको छ ।
शुक्रबार आएको शवपरीक्षण प्रतिवेदनको नतिजाअनुसार मुनाको मृत्यु घाँटीमा बाँधिएको डोरीका कारण भएको खुलेको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धान र सीसीटिभी फुटेजका आधारमा कामदारले पिर्काले हानेर मारेको बताइएको थियो । तर पिर्काले हानेर घाइते मात्र भएको र पछि डोरीले घाँटी कसेर मारेको पोस्टमार्टम रिपोर्टबाट खुलेको प्रहरी अधिकारीले बताएका छन्।
त्यस्तै कामदार विजय चौधरीको मृत्यु घाँटीको नली चुँडिएर भएको देखिएको छ । शव परीक्षण प्रतिवेदनअनुसार उनको आत्महत्या नै भएको प्रहरीको दावी छ।
पूर्वसचिव कार्की पत्नी मुना र घरमा काम गर्ने युवकको पोस्टमार्टम रिपोर्ट आएको र अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ।