सुन्दरी, सुन्दरता, महिला अधिकार, राजनीतिमा महिला, आर्थिक क्रान्तिमा महिला, खेलकुदमा महिला, शिखर आरोहणमा महिला, प्रशासनमा महिला!!
अधिकार प्रयोग गर्न जानेका महिला, अधिकार प्रयोग गर्न नजानेका महिला!
अनि राजनीतिमा होस् या अन्य जुनसुकै ठाउँंमा आरक्षित महिला अर्थात् नारी।
कलाकार याने कि हिरोइन, मन्त्री हुन् या कुनै सचिव नै।
हामी गाउँबासी या शहरिया महिला याने कि नारी, उच्च घरानाको होऊन् वा निम्न वर्गको जो भए पनि हामी नारी।
नारी शब्द आफैमा यति सुन्दर छ कि यसलाई न कुनै क्रिमको जरुरत छ न पाउडरको। जति नै सुन्दर भए पनि हामी नारीले एउटा यस्तो आर्टिफिसियल सहारा खोज्छौं कि जसले हाम्रो आफ्नो सुन्दरतालाई गुमराह बनाइदिन्छ। त्यहीँ नक्कली सौन्दर्यको पछाडि भाग्दा आफ्नो परिचय नै गुमेको पत्तै पाइँदैन।
हाम्रो समाज त पुरुषवादी सोचले ग्रस्त छ। पुरुषले मात्रै महिलालाई हेपेका छन् भन्ने होइन। यस्तो विचारले ग्रस्त महिलाबाट महिला नै शोषित पनि नभएका होइनन्। यी शोषणबाट मुक्ति पाउन आजका नारी श्रृंगारका सामानको सहारा लिदैछन्। आफ्नो सुन्दरता अरुले बयान गरिदेओस् भन्ने चाहना राख्छन्। उनी जतिसुकै क्षमतावान् भए पनि उनको परिचय रूपवती, कुरुप, सुन्दरीबाट खोजिने भएर पनि श्रृंगारका सामानको भरपुर प्रयोग गर्छन्।
आखिर यी सौन्दर्यका साधन किन प्रयोग गरिरहेका छन् नारी?
बजारमा पाइने एन्टी एजिङ, आई ब्राउज, आई लाइनर्स, आइ स्याडो, बेस मेकअप, ब्लस, लिप ग्लास, लिप लाइनर, लिपिस्टिक, नेलपोलिस यस्ता हजारौं किसिमका सामानहरु नारीलाई नै भनेर बनाइएका छन्। नक्कली आँखा, नक्कली ओठ, नक्कली गाला किन?
यी सबै साधन नारीले नै प्रयोग गर्छन् किनकि आफ्नो साँचो अनुहारको बारेमा त उनीहरुले कुण्ठा पालेर बसेका छन्। साँचो अनुहारमा केही न केही नमिलेकोले सुन्दरी छैन भन्ने भान कसरी प¥यो नारीमा? बजारिया वस्तुले मात्रै उनको अनुहार चम्किन्छ नत्र कुरुप छिन् भन्ने हिनता र कुण्ठा कसले भ¥यो नारीको मनमा?
कसले गरेको अनुसन्धान हो नारीको अनुहारमा कुनै न कुनै दोष छ या कुनै विशेष कुराको कमी छ भन्ने? अनि मेकअपका साधन प्रयोग गरेर दोषमुक्त गराउन किन प¥यो? के मेकअपका सामान प्रयोग गरेर दोषमुक्त गरेमा नारी सुन्दरी कहलिन्छिन् त?
फेरि सुन्दरी देखिने होडमा खाना छोडिदिन्छन्। बोसोयुक्त खाना खाए मोटो हुन्छे, नितम्ब, कम्मर, पिडौंला मोटा हुन्छन्, साइज बिग्रन्छ र नराम्री देखिन्छ भनेर साइज मिलाउन थाल्छन्। शरीर कमजोर हुन्छ तर पनि सुन्दरी देखिनु त छ। फेरि कसले भन्यो कि नारीको शरिरको आकारमा सुन्दरता हुन्छ?
फेरि कसले अर्को अनुसन्धान ग¥यो कुन्नी! राम्रा रङ्गीचङ्गी लुगा र गहनामा नारीको सुन्दरता निखारिन्छ भनेर? अनि त्यसैको लहलहैमा नारीहरु अति बुट्टेदार सारी, पूरै पिठ्यूँं खोलेको ब्लाउज, अग्ला चमकदार चप्पल अनि रङ्गीबिरङ्गी, विभिन्न चमकदार पत्थरजडित चुराहरु पहिरिंदै आफ्नो सुन्दरता खोजिरहेका छन्। त्यहाँ पनि नारी आफ्नो साँचो रुपसँग कुण्ठित छन्। आखिर किन यसो गर्छन्? किन आफुभित्रको सुन्दरतासँग सन्तुष्ट हुन सक्दैनन्? किन नारीको क्षमता बाह्य सुन्दरतामा मापन गरिन्छ?
हाम्रो समाजमा पुरुषको परिचय उसको कामको आधारमा हुन्छ तर नारीको परिचय उसको सुन्दरतासँग। डाक्टर, इञ्जिनियर, कलाकार, लेखक जे सुकै होस् तर प्रश्न गरिन्छ कि हेर्नमा कस्ती छे? होची, अग्ली, काली, गोरी, पुड्की, अग्ली साइज त फरक–फरक हुन्छ। डाक्टर, इञ्जिनियर, पाइलट, कलाकार, लेखक पुरुषको आफ्नै पहिचान हो तर नारीको होची, पुड्की, राम्री या नराम्री?
यस्ता परिचय लुकाउने व्यवहारका पछाडि नारीहरु पनि अन्धाधुन्ध दौडिरहेका छन्। जुन कुरा नारी परिचयको लागि अपाच्य लाग्छ।
नारी वास्तवमा आफैमा सुन्दर छिन्। सृष्टिको सबैभन्दा सुन्दर रुप नै नारीत्व हो। नारी सुन्दर हुन कुनै सौन्दर्य प्रशाधन या रत्नजडित चुरा प्रयोग गर्नै पर्दैन।
घर सुन्दर बनाउने नारी हुन्। कुनै घरमा नारी छैनन् भने त्यो घर मसानघाट जस्तो लाग्छ। परिवार सुखी र सन्तति असल बनाउन नारीकै महत्वपूर्ण भूमिका रहन्छ। सन्तानलाई कस्तो बनाउने त्यो नारीकै हातमा हुन्छ।
सुन्दर सपना बोकेर भोक तिर्खा नभनेर, आफू भोकै बसेर सन्तान र परिवारको पेट भर्ने नारी कसरी कुरुप? परिवारको इज्जतको लागि कहिले दाइजो तराजुमा जोखिन्छिन्, कहिले मट्टीतेलमा दन्किन्छिन् त कहिले घरको दलीनमा झुण्डिन्छिन् अनि उनै नारी कसरी कुरुप हुन् र बाह्य सुन्दरता चाहियो? घर र माइती दुवै परिवारको बीचमा एउटा मजबुत पुल बनेर बलियो सम्बन्ध बनाउँछिन् उनी । अनि कसरी कुरुप?
आफ्नो घर परिवार, समाज र देश नै सुन्दर र सफल बनाउने सपना बोक्छिन् नारी तर उनी कसरी कुरुप?
आमा बनेर सन्तानलाई अथाह माया गर्छिन्। श्रीमती बनेर असल साथी, सुख, दुःखको साथी मायालु जीवनसंगिनी बनेर पतिको सेवा गर्छिन्। उनै पतिका लागि व्रत बस्छिन् सौन्दर्यताका साधन प्रयोग गरेर खुशी पार्छिन्। बुहारी बनेर लोग्नेका बाआमालाई आफ्ना कर्मदाता ठानेर सेवा गर्ने यिनै नारी हुन्। सहनशीलतालाई आफ्नो गहना ठान्ने र हरेक आपतविपत परे पनि संघर्ष गरेर जीवन चलाउन सक्ने नारी कसरी कुरुप?
यिनै अनेक गुणहरु नै नारीका गहना र सुन्दरताका साधन हुन्। आत्मादेखि सुन्दर यी नारीलाई न कुनै प्रशाधनको आवश्यकता छ न त भगवानको नाममा बेचिने हरिया पहेंला चुराको।
त्यसैले नारी तिमी कुरुप छैनौ। तिमी त संसारकी सुन्दर सृष्टि हौ। बाहिरी रुपको पछि नलाग। तिमी आमा हौ। तिमी छोरी हौ। संसार फुलाउने फूल हौ, तिमी त्यसै सुन्दर छौ।