एकपछि अर्को चुरोटका खिल्ली सल्काउँदै धुवाँ आकाशतिर फुकिरहेका रने दाइलाई सोधे ‘के भो, किन उदास यार?’
बचेको सानो ठुटो भुँइमा अचेटेर निभाउँदै भने, ‘भ्यालेन्टाइन डे आयो, उसको बहुत याद आइराको छ।’
नबुझे जस्तो गरेर सोधें, ‘कस्को ?’
उनी खिस्स हाँसे अनि भने, ‘मजाक नगर के यार!’
मैले उनको मोबाइलतिर आँखा पु¥याएँ । उनले मोबाइल लुकाउन खोज्दै भने, ‘बिहानदेखि हेर्दैछु, अनलाइन नै आउदिन।’
उनले फेरि अर्को खिल्ली चुरोट सल्काए । नाकका प्वालबाट धुवाँ निकाल्दै भने, ‘नेपाल जाने कोही छ तिम्रो?’
मैले मुन्टो दायाँ बायाँ हल्लाउँदै भनें, ‘नाइँ छैनन् यार! किन र?’
उनले मोबाइलको स्क्रिनमा भएको फोटो देखाउँदै भने, ‘उसलाई यो आइफोन अनि यो स्मार्ट वाच पठाउने विचारमा छु।’
मैले उनको हातबाट मोबाइल लिएँ र हेरें । लामो सास फेर्दै भनें, ‘यति महंगो गिफ्ट ! दुई लाख बराबर खर्च गर्ने भयौ है?’
उनी फिस्स हाँसे । आकाशतिर फर्केर फुरुरु धुवाँ उडाए अनि भने, ‘प्यारमा पैसाको कुरा आउदैन बे ! उनी खुशी हुनुप¥यो।’
मैले ओठ लेप्राक्क पारें। मनमनै हिसाब लगाएँ, ‘करिब डेढ लाखको मोबाइल अनि सत्तरी हजारको स्मार्ट वाच।’
उनको मोबाइलमा म्यासेन्जर कल आयो। उनी चुरोटको ठुटो भुँइमा अचेटेर उठे अनि अलि पर भएको कुर्सीमा बसेर गफमा मस्त हुन थाले।
रने दाइ । चार बर्षअघि अमेरिका छिरेका हुन् उनी। उमेरले ३५ काटे पनि अहिलेसम्म अविवाहित नै छन्। ग्रिनकार्ड भएपछि नेपाल गएर धुमधामसँग बिहे गर्ने सपना देख्न थालेको पनि धेरै भयो तर अहिलेसम्म कार्ड आएको छैन।
नेपाल हुँदै प्रेममा परेका रने दाइले कमाइको केही हिस्सा उनकै प्रेमिकाको लागि खर्चिन्छन्। कहिले सामान त कहिले पैसा।
पोहर साल स्कुटी किनिदिएका थिए, त्यो भन्दा अघिल्लो बर्ष सुनका गहना। यो बर्ष आइफोन एक्सआइ अनि एप्पल वाच पठाउने सोचमा छन्। तर उनी कहिले हिसाब गर्दैनन्। उताबाट अफर आयो भने रने दाइले पु¥याएरै छाड्छन्।
‘सुन न भाइ !’ रने दाइले कोट्याउँदै केही सोध्न खोजे।
‘यहाँबाट कुरियर गरेको सामान नेपाल पुग्छ?’ फोन काटेर आएका रने दाइले कुरियर गरेरै भए पनि भ्यालेन्टाइन गिफ्ट पठाउने सोचमा पुगेको प्रष्टै भो।
मैले थाहा नभएको कुरामा कसरी सल्लाह दिनु ! नबुझे जस्तै गरि भन्दिएँ, ‘खै त बड्डा ! मलाई त्यति थाहा छैन।’
छुट्टीको दिन समेत तनावमा देखिएका रने दाइले विभिन्न साथीहरुलाई फोन घुमाए। अनि अन्त्यमा फेसबुकमा एउटा स्टाटस लेखें, ‘तुरुन्तै नेपाल जाने कोही हुनुहुन्छ भने प्लिज! मलाई खबर गर्नुहोला। अत्यन्तै जरुरी काम छ।’
स्टाटस पोस्टेर हामी दुई भाइ बाहिर निस्कियौं। उनले सधैंजसो आफ्नो प्रेमिकाको बयान गर्न थाले।
‘मा कसम भाइ! मलाई पाइन भने मोर्चु भन्चे यार।’ रने दाइले गफ चुट्न थाले। ‘पैला आफ्नो खुट्टामा उभियौ भने बिहे गर्चु भनेको हुनाले त्यतिबेला बिहे गरिएन, अहिले कार्ड नहुँदा नेपाल जान नसकेर बिहे हुन सक्या छैन तर लास्टै माया गर्चि यार कसम।’
रने दाइका कुरा अनुसार उनीहरुको जोडी निक्कै मिलेको थियो। दुवैले एक–अर्कालाई खुबै माया गर्थे।
मोबाइल पसलमा छिरियो, भर्खरै लञ्च भएको आइफोन अनि एप्पलकै स्मार्ट वाच किनियो। गिफ्ट पेपरमा बाँधेर काउन्टरमा पैसा तिर्दा रने दाइको मुहारमा मुस्कान थियो, म तनावमा थिएँ।
साँच्चै प्रेममा मूल्यको महत्व हुँदो रहेनछ । नेपाली रुपैयाँ अनुसार दुई लाखभन्दा माथिको गिफ्ट किनेका रने दाइ मुस्कुराउँदै बाहिरिए, म चैं बाफरे भन्दै बाहिरिएँ।
रने दाइले अघि लेखेको स्टाटसमा दर्जनौं कमेन्ट थिए। तीमध्ये एक जना पर्सि नेपाल जाँदै रहेछन्। भ्यालेन्टाइनकै दिन प्रेमिकाको हातमा गिफ्ट पुग्ने भएर रने दाइ मख्ख परे।
आधा घण्टाको दुरीमा बस्ने विजयको डेरामा पुगेर सामान जिम्मा लगाइयो। प्रेमिकाको लागि भ्यालेन्टाइन गिफ्टको चटारो सकिएकोले रने दाइ खुइय सुस्केरा हाल्दै भने, ‘आफू रोएरै भए पनि उनलाई हसाउन पाउँदा जीवन सफल भएको जस्तै लाग्च यार। कहिले नेपाल जाउँला अनि बिहे गरेर आफ्नो बनाउला भन्ने सपनाले कहिल्यै निदाउन दिदैन यार।’
उनी चिन्तित पनि देखिए।
दैनिक भिडियो कल, लामो म्यासेन्जर च्याट गर्दै दिनहरु बित्दै थिए। सुरुवातीका सातै दिनबाट उनीहरु भ्यालेन्टाइन स्पेसल बनाउँदै थिए।
‘म लास्टै भाग्यमानी हुँ यार!’ एक्कासी बिस्तराबाट उठेर रने दाइ कोठाभरि मुस्कान छर्न थाले।
‘हैन के भो रन्दाइ?’ मैले सिरक भित्रैबाट सोधें।
‘विजयले आज प्रपोज डेकै दिन मेरो सामान उनलाई दिएछ। उनले म्यासेज लेख्या छिन्।’ रने दाइ मेरो नजिक आएर म्यासेज देखाउन थाले।
‘कालू! तिम्ले पठाएको भ्यालेन्टाइन गिफ्ट पाएँ। आइ लभ यू मेरो माया।’ उताबाट यस्तै म्यासेज आएको थियो।
रने दाइले आज बेलुका रुममा सबैलाई पार्टी दिने भए। उनी यस्ता पार्टी बेला–बेलामा दिइरहन्छन्। उता उनी खुशी भएको मौकामा यता हामी रने दाइको पार्टीमा रमाउने चलन चल्दै आएको छ।
प्रपोज डेमा सामान दिएर भ्यालेन्टाइन डे स्पेसल बनाउने तयारीमा हामीलाई समेत खुशी पारेका रने दाइ दुई दिनदेखि फेरि तनावमा थिए। कामको व्यस्तताले उनीसँग बोल्न पाइएको थिएन। आज छुट्टीको मौका पारेर उनको उदासीबारे सोधें।
‘उ अनलाइन नै आएकी छैन, फोन पनि अफ छ।’ निरास हुँदै रने दाइले बताए।
गोजीबाट चुरोट निकाले अनि सल्काएर उस्तै धुवाँ उडाउन थाले। रने दाइ तनावमा भए भने चुरोट धेरै पिउँछन्। उनको सिरानीतिर भएको चुरोटको एस्ट्रेमा भएका ठुटाले प्रष्ट पार्दै थियो कि रने दाइ पीडामा छन्।
उनले फेरि फोन ट्राई गरे, तर अहँ ! लागेन । फोन स्विच्ड अफ थियो। बिहे गर्ने पक्का भएकी प्रेमिकालाई प्रपोज डेमा गिफ्ट दिएका रने दाइ आज किस डेमा मज्जाले किस गर्ने सोचमा थिए होलान् तर विचराको त्यो सपना पूरा हुन सकेन। तनावै तनावले बेलुका सुतियो।
भ्यालेन्टाइन डे ! हरेक प्रेम गर्ने जोडीहरुका निम्ति महत्वपूर्ण पर्व। आफ्ना सारा खुशी मारेर प्रेमिका हसाउन चाहने रने दाइका निम्ति दशैंभन्दा महत्वपूर्ण दिन। गएका बर्षका भ्यालेन्टाइन डेमा छुट्टी लिएर बस्ने अनि मज्जाले प्रेमिकासँग गफिने रने दाइले यो बर्षको भ्यालेन्टाइनमा पनि छुट्टी लिए।
हामी ड्यूटी गयौं, बेलुका भ्यालेन्टाइन स्पेसल पार्टी रुममै थियो, अर्गनाइजकर्ता रने दाइ नै थिए। हामी मुख मिठ्याउँदै ड्यूटी सक्यौं। बेलुका रुममा पुग्यौं।
रने दाइ फिटान भएर बिस्तरामा ढलेका थिए। टेबुलमा बियरका खाली बोतलहरु छरपष्ट थिए। आधा खाएर फालेका मासुका टुक्रा छरपष्ट। कराइमा टन्न मासु थियो, फ्रीजमा दर्जनभन्दा बढी बियरका बोतल बाँकी थिए।
नसाले अचेत बनेका रने दाइलाई उठाएनौं । हामीले रने दाइको प्रेमको अझ धेरै सफलताको कामना गर्दै बियर पियौं, मासु चपायौं। हामी विवाहितहरुका निम्ति यस्ता भ्यालेन्टाइन डे फ्वाँसे लाग्दथे। खाने, रमाउने हाम्रा योजनाभित्र पर्दथे। तर रने दाइजस्ता अविवाहितहरुका निम्ति भ्यालेन्टाइन डे खास दिन थियो। त्यसैले त परदेशमा पनि दशैंजस्तै रमाइलो गर्दै थिए।
राती रमाइलो गरेर सुतियो। बिहानै रने दाइ रोएको आवाज सुनें मैले। बिस्तरामै ढलेर रोइरहेका रने दाइको आवाजले अरु साथीहरु पनि ब्यूँझिए। सबैले एकै साथ सोध्यौं, ‘रने दाइ ! किन रो’को?’
‘उ अर्कैसँग हिडी अरे ! उसको चक्कर गाउँकै केटासँग रहेछ। मेरो गिफ्ट पाएको पर्सिपल्ट उ त्यहीँ केटासँग भागेर बिहे गरी अरे।’ एकै सासमा यति भनेर रने दाइ भक्कानिदै रुन थाले।
हामी सबै ट्वाँ प¥यौं। बर्षौंदेखिको प्रेम झुटो ठहरियो। पैसाका लागि रने दाइलाई माया गरेको जस्तो गर्ने ती केटीको चक्कर अर्कैसँग चलेको बिचरा परदेशमा बस्ने रने दाइलाई सुइँकोसम्म थिएन।
बिचरा रने दाइलाई भ्यालेन्टाइनकै दिन प्रेमिकाले रुवाएपछि कैयौं दिनसम्म हाँस्न सकेनन्। आजभोलि हामी रने दाइलाई भ्यालेन्टाइन डेको बेला जिस्काउन थाल्छौं। उनी भन्छन्, ‘तैट ! के को भ्यालेन्टाइन डे? परदेशमा हाम्लाई एउटा ड्यूटी डे अनि अर्को छुट्टी डे।’