काठमाडौँ । धनुषाको ढल्केवर स्थित औरही खोलामा बालुवा गिट्टी उत्खनन रोक्न गएका दिलीपकुमार महतोलाई टिपरले किचेर हत्या गर्ने तीन जनालाई पूर्वपक्षका लागि जलेश्वरस्थित जेल चलान गरिएको छ । सोही घटनाका अन्य तीन जनालाई धरौटीमा छाडिएको छ ।
धनुषा जिल्ला आदलतको आदेशमा टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो र क्रसर सञ्चालक विपीन महतोलाई पुर्पक्षका लागि जेल जिल्ला अदालतको आदेशमा जेल चलान गरिएको हो ।
पक्राउ परेका मध्येका दिलीपसँगै खोलामा गएका साथी रोशनकुमार यादव, घटनामा संलग्नता देखिएका सत्यनारायण महतो र शत्रुधन महतो प्रति २५ हजार रुपैया धरौटी बुझाएर साधारण तारेखमा रिहा गरिएको छ ।
धनुषा जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दिलिपकुमार महतोको हत्यामा क्रसर संचालक विपीन महतो, टिपर चालक मुनिन्द्र महतो र सह चालक जितेन्द्र महतोको संलग्नताको आधार, प्रमाण देखिएकाले थुनछेक प्रयोजनका लागि थुनामा राख्ने आदेश दिएको हो ।
घर नजिक रहेको औरही खोलामा भइरहेको अवैध गिट्टी बालुवा उत्खनन रोक्न गएको बेला टिपरले किचेर धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ स्थित श्रीपुरका २४ वर्षीय युवक दिलीप कुमार महतोको हत्या गरिएको थियो ।