होलेरी पुगेर ऊर्जामन्त्री पुनले सम्झिए २४ वर्षअघिको त्यो दिन

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  ५ : ०२


रोल्पा । जनयुद्धको घोषणा भएको २०५२ फागुन १ गते माओवादी छापामारहरुले रोल्पाको होलेरी, रुकुमको राडीज्यूला र सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी कब्जा गरे। 

रोल्पाको होलेरी प्रहरी चौकी कब्जा गर्ने छापामारहरुको कमाण्डिङ गर्नुभएको थियो अहिलेका ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ ले।

२४ वर्षअघि फागुन १ गतेकै राती २५ वर्षे युवा ‘छापामार’ अनन्त नेतृत्वको छापामार दस्ताले होलेरी प्रहरी चौकीमाथि पूर्ण कब्जा गरेको थियो। 

२४ वर्षपछि बिहीबार ‘मन्त्री अनन्त' होलेरीमै पुगेर त्यहीँ २५ वर्षे 'छापामार अनन्त'को प्रसंग कोट्याउँदै हुनुहुन्थ्यो।

‘म त्यतिबेला २५ वर्षको तन्नेरी थिएँ, युवा जोश जाँगर थियो, ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ले विगत कोट्याउँदै भन्नुभयो, ‘०५२ फागुन १ गते हामीले यहाँ (होलेरी) को प्रहरी चौकी कब्जा ग¥यौं।’

उहाँले भन्नुभयो, ‘मैले छापामार दस्ताको समग्र कमाण्डिङ गरेको थिएँ, अहिलेका सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनमगर ‘पासाङ’ सह–कमाण्डर हुनुहुन्थ्यो। त्यसैगरी पूर्वसभामुख ओनसरी घर्ती, ५ नं. प्रदेशका आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसी ‘सोनाम’, प्रदेश सभा सदस्य दिपेन्द्र पुनलगायत ३६ जना उक्त आक्रमणमा सहभागी थियौ। त्यो इतिहासलाई भुल्न सकिँदैन।’ 

२४ वर्षअघि प्रहरी चौकीमा धावा बोलेर विद्रोह शुरु गरिएको रोल्पाको होलेरीमै आएर अहिले शान्तिको बहस गरिनु सकारात्मक भएको पुनले बताउनुभयो।

‘होलेरी विद्रोहको विम्ब एवं प्रतीक हो, होलेरीमै राज्यको अंगमाथि धावा बोलेर जनयुद्ध शुरुवात भएको थियो, उहाँले भन्नुभयो, ‘अहिले समय फेरिएको छ, होलेरी शान्ति र समृद्धिको विम्ब बनेको छ, यसलाई अझै विकसित गर्नुपर्दछ।’ 

फागुन १ मा होलेरीमै जमघट हुने अवसर जुटाइदिएको थियो रुन्टीगढी गाउँपालिका र नेपाल पत्रकार महासंघ रोल्पा शाखाले। 

गाउँपालिका र महासंघको सहकार्यमा फागुन १ र २ गते राष्ट्रिय मिडिया सम्मेलन आयोजना गरिएको थियो। सोही मिडिया सम्मेलन उद्घाटन तथा सहभागिताका लागि ऊर्जा, जलश्रोत एवं सिचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ होलेरी पुग्नुभएको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै ऊर्जामन्त्री पुनले जनयुद्ध जनताको न्यायपूर्ण विद्रोह भएको बताउँदै त्यसकै बलमा अहिलेको परिवर्तन सम्भव भएको बताउनुभयो।

नेपाली जनयुद्ध आफ्नै मौलिकतामा लडिएको भन्दै मन्त्री पुनले जनयुद्धले लिएका लक्ष्यहरु बिस्तारै पूरा हुने क्रममै रहेको दावी गर्नुभयो।  

‘जनयुद्धको शुरुवातदेखि नै हामीले उठाएका एजेण्डाहरु सफल हुँदै देशकै साझा एजेण्डा बनेका छन्, मन्त्री पुनले भन्नुभयो, ‘वर्गीय, क्षेत्रीय, लिङ्गीय, जातीय तथा साँस्कृतिक उत्पीडनका विरुद्धमा जनयुद्धले उठाएका एजेण्डा आज देशका एजेण्डा बनेका छन्, नेपाल समृद्धिको यात्रामा अगाडि बढेको छ। यो जनयुद्धको सकारात्मक मुद्धा र एजेण्डा हो।’ 

होलेरी विगतमा विद्रोहको केन्द्रका रुपमा परिचित भएको उल्लेख गर्दै उहाँले अब यसलाई आर्थिक केन्द्रको रुपमा विकास गर्न सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो। 

होलेरीलाई ऐतिहासिक, धार्मिक तथा युद्ध पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सकिने भन्दै उहाँले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले आवश्यक गुरुयोजनासहित लाग्नुपर्नेमा जोड दिनुभयो।

युद्धकालमा खोला, नदीनालाहरु दुश्मनलाई एम्बुस गर्ने अनुकूल भूगोलका रुपमा उपयोग गरिएको स्मरण गर्दै मन्त्री पुनले अब अब विजुली उत्पादनका लागि उपयोग गर्ने बताउनुभयो।

अहिलेको युग सूचना प्रविधि र विज्ञानको युग भएको भन्दै उहाँले मिडियाले ग्रामीण क्षेत्रको विकासका साथै जनयुद्धले समाजमा ल्याएको सकारात्मक परिवर्तनका बारेमा पनि कलम चलाउन आग्रह गर्नुभयो।

दुई दिनसम्म चल्ने होलेरी मिडिया सम्मेलनमा विभिन्न सत्रमा छलफल, बहसका कार्यक्रमहरु मिलाइएको छ।

रोल्पाको होलेरी आफै युद्ध पर्यटनका हिसाबले महत्वपूर्ण स्थान हो। त्यस्तै, यहाँ जनयुद्धको शुरुवातमा आक्रमण भएको स्थान, स्वर्गद्वारी महाप्रभूको तपस्या गरेको स्थल, जन्मस्थल रुन्टीगढी, जनमुक्ति सेनाको पाँचौ डिडिभजको मुख्यालय रहेको दहवन क्षेत्र, शिव पार्वती गुफा, गढी लेख, मुरुले लेख यस क्षेत्रका पर्यटकीय स्थलहरु हुन्।
 


प्रतिक्रिया दिनुहोस्