जनतालाई सुसूचित गर्न रेडियोको भूमिका महत्वपूर्ण : नेता खनाल

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  ९ : २३


काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्ना हक अधिकारका विषयमा जनतालाई सुसूचित गर्न सामुदायिक रेडियोहरूले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ।

नवौँ विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नै खनालले सूचनाको हक, समानताको हक, लोकतान्त्रिक हकको सन्दर्भमा व्यापक प्रचार प्रसार गरी जनतालाई सुसूचित बनाउन भूमिका खेलेको बताउनुभयो।

प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि आफूले निर्वाह गर्नुपर्ने भूमिकाका लागि प्रतिवद्ध रहेको उल्लेख गर्दै वरिष्ठ नेता खनालले राष्ट्रियताको सवालमा देशभक्तिको भावना विकास गर्न पनि सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

खनालले नेपालका संविधानले सम्पूर्ण नेपालका लागि आवश्यक हक अधिकार सुनिश्चित गरेको, देश, जनता, सभ्यता, संस्कृति, स्रोत साधन प्रति माया गर्न सिकाएको र परिवर्तनका सबै ढोकाहरू खोलेको उल्लेख गर्नुभयो।

विश्वमै उत्कृष्ट रहेको संविधान आफैमा पूर्ण नभएपनि विकासमान डकुमेन्ट्री भएकाले यसलाई आवश्यकता अनुसार परिमार्जन र परिष्कृत गर्दै लैजानुपर्ने उहाँले बताउनुभयो।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा दण्डहीनता बढेको बताउनुभएको छ। सीमान्तकृत जातजातिका अधिकार अझै स्थापना गर्न नसकिएको, छुवाछुतको अन्त्य गर्न नसकिएको र जनताले पूर्णकालीन न्याय पाउन नसकेको उल्लेख गर्नुभयो।

२०६२ सालमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन भएको भएपनि २०७६ सम्म आइपुग्दा समेत पदाधिकारी चयनमै विवाद रहेको बताउनुभयो । ऐन बनाएर आयोग गठन नगर्दा यो समस्या आएको उहाँको भनाई छ।

नेपाली काङ्ग्रेसकी नेतृ पुष्पा भुसालले महिला, दलित जनजाति, पिछडिएका समुदायका अधिकार संविधानमा उल्लेख भएपनि व्यवहारमा लागू हुन नसकेको बताउनुभयो । संविधानले दिएका अधिकारहरूको स्थापनाका लागि सामुदायिक रेडियोहरूको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो।

सामुदायिक रेडियो प्रसारक सङ्घले विश्व रेडियो दिवसका अवसरमा रेडियो र विविधता विषयक अन्तरक्रिया कार्यक्रम गरेको थियो।


प्रतिक्रिया दिनुहोस्