काठमाडौँ । माघ २१ मंगलबार राति करिब २ देखि ३ बजेका बीचमा पुल्चोकबाट मंगलबजार जाने बाटोमा पर्ने श्रीबहालस्थित एक सुनचाँदी पसल चोरी भयो।
बिहानीपखको मिठो निद्रामा मस्त घरबेटी तथा स्थानीयले काठको ढोका फोडेर पसल भित्र रहेको सेफ गाडीमा हालेर लुटेराहरु भाग्दा पनि कुनै चाल पाएनन्।
बिहान पसलको ढोका ह्वाङ देखेएपछि शाक्य ज्यास पसलका मालिकको होस हवास नै उड्यो। चोरी भएको स्पष्ट भएपछि हल्लीखल्ली गर्दै स्थानीयले प्रहरीलाई खबर गरे।
महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट टोली घटनास्थलमा पुग्यो। लुटेराहरुले करोडभन्दा माथि कै लुटपाट गरेको सूचना पाएपछि महानगरीय प्रहरी अपराध महाशाखाको ललितपुर शाखा पनि अनुसन्धानमा खटियो।
प्रभाग र अपराध महाशाखाको टोलीले एक साताको अनुसन्धानपछि अन्ततः सुनपसल लुटपाट काण्डमा संलग्नहरुको पहिचान गरी पक्राउ गर्न सफल भयो। प्रहरीको अनुसन्धानमा सबैभन्दा ठूलो सहयोगी सावित भयो पसलमा जडान गरिएको सीसीटिभी। लुटेराहरुले पसलमा प्रवेश गरेर सेफ निकाल्नु अघि कैद भएको जम्मा १५ सेकेण्डको फुटेजकै कारण प्रहरी उनीहरुको पहिचान गर्न सफल भयो। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।