काठमाडौं । स्वास्थ्य मन्त्रालयले सिन्धुपाल्चोकमा फैलिएको रुघाखोकीलाई कोरोना भाइरस भनेर गलत हल्ला फैलाइएको भन्दै आपत्ति जनाएको छ । मन्त्रालयका सहप्रवक्ता सागर दाहालले सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३, गुम्बा गाउँमा फैलिएको संक्रमण सामान्य रुघाखोकी भएको र कुनै कोरानाको संक्रमण नभएको दाबी गर्नुभयाे ।
गुम्बा गाउँमा ज्वरो, रुघाखोकीले अहिलेसम्म २ सयभन्दा बढी मानिस बिरामी भएका छन् भने उपचारमा स्वास्थ्यकर्मी खटिरहेका छन् । यो संक्रमण कोरोना भाइरसको पनि हुन सक्ने आशंका गर्दै जुगल गाउँपालिका कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको छ । यसैलाई आधार बनाएर अहिले सञ्चारमाध्यममा कोरोना संक्रमणको आशंका भनेर समाचार आइरहेका छन् ।
अहिले प्रभावित स्थलमा स्वास्थ्यकर्मीको टोली पुगिसकेको बताइएकाे छ । तर पनि शंका निवारणका लागि चिकित्सक टोलीले त्यहाँका बिरामीको रगत तथा र्यालको नमुना काठमाडौं ल्याउने र टेकु अस्पतालमा कोरोना हो वा होइन भनेर परीक्षण गरिने बताइएकाे छ। रिपोर्ट आएपछि आजै पत्रकार सम्मेलन गर्ने मन्त्रालयले जनाएकाे छ ।